-केकी अधिकारी ।

काठमान्डुभन्दा १० घन्टा ढिलो न्युयोर्क सहरमा बिहानीको घाम झुल्किँदा सदाझै त्यो दिन मैले पनि सामाजिक सञ्जाल र अनलाइन न्युजपोर्टलहरू खोलेँ। २४ अगस्तको न्युयोर्कको बिहानी, काठमान्डुको क्षितिजमा साँझको घाम ढल्किँदै हुँदो हो।

सामाजिक सञ्जाल र वेबसाइटहरू टीकापुर, कैलालीको निन्दनीय घटनाको समाचार र प्रतिक्रियाले भरिएका थिए। सबै नेपालीजस्तै स्तब्ध भएँ, केही सोच्नै सकिन, मन चिसो भयो। आन्दोलनको आडमा गराइएको ऊक्त त्रू्कर र अमानवीय घटनाको न्यायिक छानबिन हुनुपर्छ। र, दोषीमाथि कानुनसम्मत कडा कारबाही गरियोस्। यस्ता आवाजसँग म ऐक्यबद्धता जनाउन चाहन्छु। कुनै पनि जायज माग र अधिकारको आन्दोलनलाई म सधैँ समर्थन गर्छु। तर, मान्छेको बाँच्न पाउने अधिकारभन्दा ठूलो कुनै पनि अधिकार हुन सक्दैन भन्नेमा म दृढ छु। त्यसैले अधिकारप्राप्तिको लागि गरिने कुनै पनि आन्दोलनको बहानामा सुरक्षाकर्मी हुन् वा आन्दोलनकारी अथवा आन्दोलनसँग कुनै सरोकार नराख्ने व्यक्तिको जिउने अधिकार खोसिन्छ भने म त्यसको विरोध गर्छु।

सयौँ वर्षदेखि नै आप्रवासीलाई आकर्षित र स्वागत गर्ने सहरका रूपमा परिचित छ न्युयोर्क। सडकमा हिँड्दा होस् वा क्याफे–रेस्टुराँमा बस्दा, मैले यो सहरले सजिलै विश्वका फरकफरक मानिसलाई आफ्नो बनाएको देखेकी छु। यस्तो लाग्छ, यो सहर विश्वकै बहुसांस्कृतिक राजधानी हो। कसैको पनि राष्ट्रियतामाथि कुनै प्रश्न नउठाइकन र पहिचान गुमाउन बाध्य नबनाइ यो सहरले व्यक्तिगत सामर्थ्यको आधारमा प्राप्त गर्नसक्ने उच्चतम उपलब्धि हासिल गर्न छुट दिन्छ। अमेरिकी संविधानले प्रत्याभूत गरेको समान अवसर र व्यक्तिगत स्वतन्त्रताको हकलाई व्यावहारिकरूपले लागु गर्न सकेको भएर होला नेपाली मूलका प्रसिद्ध फेसन डिजाइनर प्रबल गुरुङदेखि चिनियाँ प्रसिद्ध चलचित्रकर्मी आङ लीलगायत धेरैले यो सहरलाई कर्मभूमि बनाएका छन्। न्युयोर्क त्यतिमा मात्र सीमित छैन। सहिष्णु ढंगले सारा विश्वका लागि आन्दोलित हुने गरेको हामीले पढेका, सुनेका छौँ। जलवायु परिवर्तनको विषयलाई लिएर यो सहरले विकसित राष्ट्रका सरकारहरूको विरोध गर्छ, रंगभेदको विरोध गर्छ। अफ्रिकाको गरिबी र भोकमरीको बारेमा आवाज उठाँउछ। मानवअधिकारको बारेमा पनि बोल्छ। विभेद, कुरिती र अन्यायविरुद्ध देखाउने ऐक्यबद्धताले यहाँको समाजको उदारता र खुला हृदय प्रष्ट झल्काउँछ। तर, यहाँको झिलिमिली साँझमा रमाउन नसकेको मेरो मनले आज मसँगै प्रश्न सोधेको छ, के काठमान्डुले नेपालको राजधानीको रूपमा नेपालका मोफसलप्रतिको आफ्नो कर्तव्य पूरा गरेको छ? के हामीले हाम्रै देशवासीसँग उनीहरूको राष्ट्रियताको प्रमाण नमागिकन, तिनको पहिचानलाई सम्मान गरेर सामर्थ्यअनुसारको अवसर दिएका छौँ?

काठमान्डु प्रक्रियामा भन्दा प्रतिक्रियामा बढी रमाउने सहर हो सायद! विनाशकारी भूकम्पले लाखौँ संरचना भत्काएका बेला काठमान्डु जुर्मुराएको थियो। अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूले कसरी र कहाँबाट सहयोग सुरु गर्ने भनेर भेउ नपाएका बेला, सरकार अलमलिएको बेला, मधेसी, थारू, लिम्बु, बाहुन–क्षत्री, नेवार कसरी ऐक्यवद्ध भएका थिए? सबै मिलेर राहत र पुनर्निर्माणमा होमिएका थिए सबै। सारा विश्वले नेपाली समाजको प्रशंसा गरेको थियो। म पनि राहतकै सिलसिलामा दोलखा जिल्लाको झ्याकु गाविस पुगेकी थिएँ। जस्तापाताका अस्थायी टहरा बनाइसकेपछि फर्कंदै गर्दा शून्य चरिकोट बजारलाई देखेर मन नरमाइलो भएको थियो। तर, पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मका युवा राहतको अभियानमा जोडिएको त्यो बेला यस्तो लाग्थ्यो, यो शून्य चरिकोट बजारलाई त मेरो पुस्ताले केही वर्षभित्र नै झिलिमिली र सुन्दर बनाउने छ।

केही दिनअघि क्यालिफोर्निया राज्यको सान होसे सहरको पर्फमिङ आर्टस् सेन्टरमा ‘फेस्टिवल अफ ग्लोब’ का समय म, अभिनेत्री नन्दिता केसी दिदी र सोही सहरमै बसोबास गरिरहेका नेपाली कलाकारले ‘जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर’ बोलको गीतमा नृत्य प्रस्तुत गर्दैगर्दा नेपाल कतिपय जिल्ला सीमांकनको विषयलाई लिएर आन्दोलित हुन थालिसकेका थिए। तर, काठमान्डु मौन थियो। अहिले काठमान्डु प्रतिक्रियात्मक भएको छ। मोफसलमा भने आन्दोलनको क्रममा पक्षविपक्षहरू खडा हुनथालेका छन्। ती आन्दोलनका अग्रपंक्तिमा मेरै उमेरका युवा उभिएका हुनेछन्। भूकम्पको बेलामा जस्तो स्वस्फूर्तरूपमा होइन, यसपल्ट केही निहित मानिसको शासकीय स्वार्थको कठपुतली बनेर। जस्तोसुकै परिस्थितिमा पनि आफ्नो संयम र धैर्य नगुमाएका तर अहिले कतै मौन बसेका तथा कतै आन्दोलित भएका मेरो पुस्तालाई म फेरि एकचोटी आफ्नो आत्मविश्वास नगुमाउन आग्रह गर्छु।

टीकापुरको घटना र त्यसपछि विकसित हुँदै गरेको परिस्थितिलाई हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ, हामी फेरि अत्यन्त संवेदनशील मोडमा उभिएका छौँ। भविष्य असंवेदनशील हुनसक्ने सम्भावना देखिएको छ। त्यसैले म काठमान्डुलाई मौन नबस्न र मोफसलप्रतिको दायित्व निर्वाह गर्न झक्झक्याउन चाहन्छु। जायज मागहरूप्रति हामीले ऐक्यवद्धता जनाउनु पर्छ। मतभिन्नताहरू छन् भने संयमित भएर सौहार्द्रपूर्ण वातावरण निर्माण गरेर समाधान खोज्नुपर्छ। मलाई थाहा छ, हामी निर्णय लिने ठाउँ र पदमा छैनौँ, तर हरेक तहबाट लगातार दबाब सिर्जना गर्नसके हामीले चाहेको जस्तै निर्णय हुनेछ। म हाम्रो पुस्ताको विवेकमाथि विश्वास गर्छु, यो देशको भाग्य कोर्न हामी आफै सक्षम छौँ। कसैको कठपुतली बनिरहन आवश्यक छैन। त्यसैले, प्रतिक्रियामा रमाउनुको सट्टा प्रक्रियामा सहभागी हुने कोसिस गरौँ। अहिलेको प्रमुख आवश्यकता सामाजिक सद्भाव कायम राख्नु पनि हो। आफ्नो छिमेकीको घाउ देख्नेबित्तिकै मल्हम लगाउने हातहरू काम्न नदिनुस्। आवेशमा अनावश्यक टीकाटिप्पणी वा गैरजिम्मेवार अभिव्यक्ति दिन तुरुन्तै बन्द गरौँ। स्नेह, सद्भाव र संयमताका सन्देशलाई सबैभन्दा बढी फैलाऔँ।

-न्यूयोर्क,अमेरिका ।

साभार : नायिका अधिकारीको ब्लगबाट

Comments

comments