काठमाडौं । नयाँ संविधानको अन्तिम परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिने सभासदहरुले संविधानले सबैको अधिकार सुनिश्चित गर्ने भएपनि हरेक जातजातिको अलग अलग राज्य भने सम्भव नरहेको बताएका छन् । उनीहरुले महिला , मुस्लिम, थारु र श्रमिक सबैका अधिकार संविधानले बोल्ने भएपनि जातीय राज्यको कल्पना भने संविधानमा असम्भव रहेको बताएका छन् ।

छलफलमा भाग लिनुहुँदै पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले टीकापुर घटना निन्दनीय, बर्बर र नृशंसा भएको भन्दै अहिलेको कठिन अवस्थामा बुद्ध मन लिएर अगाडि बढ्न सके मात्र शान्तिपूर्ण समाजको परिकल्पना गर्न सकिने बताउनुभयो । उहाँले मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई पल्टाउन सामन्तवादी शक्ति सल्बलाएको बताउँदै यथाशीघ्र संविधान जारी गर्न सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।  नेता खनालले राजतन्त्र कुनै हालतमा नफर्कने जिकिर गर्नुहुँदै संविधानमा महिला, मुस्लिम, थारू, श्रमिक सबैको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । बागलुङ र रुकुमको समस्या समाधानमा पनि सबै दल एकमत हुनुपर्ने बताउँनुहुँदै पूर्वप्रधानमन्त्री खनालले संविधान सहमतिको दस्तावेज रहेको उल्लेख गर्नुभयो । सभासद् प्रकाशशरण महतले टीकापुर घटना अमानवीय, क्रुर र निन्दनीय रहेको भन्दै सबै जातजातिको अलगअलग राज्य हुन नसक्ने स्पष्ट पार्नुभयो ।

छलफलमा भाग लिदै सभासद् जनार्दन शर्माले टीकापुरको घटना निन्दनीय भएको बताउँदै जनतालाई कसैको हठमा नलाग्न आग्रह गर्नुभयो ।

यस्तै दिलनाथ गिरीले नेपाली जनताले अपनत्व गर्न सक्ने प्रकृतिको संविधान जारी हुनुपर्ने बताउँनुहुँदै सभासद् जनकराज चौधरीले दलित र महिला, मुस्लिम पिछडिएको वर्ग सबैको हित हुने संविधान जारी हुनुपर्नेमा जोड दिनुभयो । सभासद् राजेन्द्रसिंह श्रेष्ठले वंशजका आधारमा नागरिकता पाउनुपर्ने माग गर्नुभएको छ ।

Comments

comments