काठमाडौं । नेपाली चलचित्र क्षेत्रको इतिहासमै पहिलोपटक गीत भाइरल बनेको रेशम फिलिलि धेरै नेपाली दर्शकहरुको प्रतीक्षाको चलचित्र थियो । नभन्दै वैशाख ११ गते रिलिज भएको रेशम फिलिलिले देशभरका हलहरुमा ९० भन्दा बढी हल पायो । काठमाडौं उपत्यकामै यसले दैनिक १७ शो भन्दा बढी पाएको थियो भने तीन दिनका लागि सबै शोज अग्रीम बुकिङ भैसकेको थियो । रेशम फिलिलिको यो सफलता आफैंमा ऐतिहासिक थियो । निर्माताका लागि नागमणि सरह थियो । किन भने रेशमप्रतिको दर्शकको चासोले केही करोड व्यापार गर्ने संकेत देखाइरहेको थियो ।

तर दुर्भाग्य रेशम रिलिज भएको भोलिपल्ट अर्थात वैशाख १२ गते शनिवार विहानको शो सकिदा नसकिदै महाविनाशकारी भूकम्प आयो । जसले चलचित्र क्षेत्रलाई मात्र होइन मुलुकलाई नै तहसनहस पार्यो । त्यसको झण्डै तीन हप्तापछि स्थिति सामान्य बन्दै गएपछि रेशम फिलिलि पुनः रिलिज गरियो–पहिलेकै हलहरुमा । तर वैशाख २९ गते मंगलवार फेरि अर्को शक्तिशाली भूकम्पले हल्लाइदियो । त्यसपछि भने धेरैले रेशम फिलिलि र भूकम्पको सम्बन्धलाई लिएर गसिप बुन्न थाले । सामाजिक सञ्जालहरुमा भाइरल बनेर सफलताको सुनामी नै ल्याएको रेशम फिलिलि जब जब हलमा लाग्छ,तब भूकम्प जाने गसिपको मूल विषय बन्यो ।

यो शुक्रवारदेखि पुनः रेशम फिलिलि रिलिज भएको छ । योसँगै शनिवार कतै फेरि अर्को भूकम्प जाने पो हो कि भन्ने रमाइलो गसिप कलिउड बजारमा यतिखेर हटकेक बनेको छ ।

Comments

comments