काठमाडौै । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको मस्यौदामा समावेशी र समानुपातिक प्रतिनिधित्वसहित आदिवासी, जनजाति लगायत पछि परेका समुदायको हकअधिकार सुनिश्चित गर्ने सम्बन्धमा भने केही धर्मराएको दाबी गर्नुभएको छ ।

तर संविधानसभाको बनोटबमोजिम हालको मस्यौदा तयार हुनुलाई ठूलो उपलब्धिका रुपमा मान्नुपर्ने उहाँको कथन छ ।  नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उहाँले संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेको बेला आफ्ना हकअधिकार स्थापित हँुदैन कि भन्ने असन्तुष्टि आएका आवाज उठ्नु स्वभाविक रहेको बताउँनुभयो । उहाँले सामन्तवादबाट पुँजीवादतर्फ जाने लोकतान्त्रिक विधिअनुरुप संविधानसभाबाट संविधान निर्माण हुन लागेको उल्लेख गर्नुभयो ।

एउटा युगबाट अर्काे युगमा प्रवेश गर्दा ठूलो छाती बनाएर जानुपर्ने आवश्यकतामा मस्यौदा कहीँ न कहीँ सङ्कुचन र खुम्चेको अध्यक्ष दाहालको दाबी थियो । उहाँले संविधान लेखन प्रक्रिया अहिले इतिहासको पेचिलो मोडमा रहेकाले नेपाली जनता अहिले छिटो सङ्घीय लोकतान्त्रिक संविधानको घोषणा होस् भन्ने पक्षमा रहेको धारणा राख्नुभयो ।

मुलुक संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा रहेको बताउँदै उहाँले यो संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्नेका लागि खुसी र गौरवको विषय भएको बताउँनुभयो ।

संघीय समाजवादी मोर्चालगायतका मधेसवादी दल र अरू पक्षलाई संविधान लेखनको प्रक्रियाबाट नबाहिरन, वार्तामा आउन, समस्या समाधानमा योगदान पु¥याउन पनि उहाँले आग्रह गर्नुभयो ।

Comments