काठमाडौं । काठमाडौंमा जारी साफ अण्डर नाइन्टिन फुटबल प्रतियोगितामा सोमवार समूह ’ए’ अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुने छ ।

एक एक खेल जित्दै सेमिफाइनल पुगेको दुई टिमबीचको खेल निकै रोमाञ्चक हुने विश्वास छ । सोमवार जित हात पार्ने टोलि समूह बिजेता हुने भएकोले दुवै टोली जितको खोजीमा रहनेछन् ।

यसअघि आइतवार भारतले अफगानिस्तानलाई २–० ले हराएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा भारतलाई जित दिलाउँन कमलप्रितसिं र अनिरुद्ध थापाले एक एक गोलको योगदान दिएका थिए । कमलप्रितले दशौं मिनेटमा नै खाता खोलेर भारतलाई अग्रता दिलाएका थिए । उनले हेड मार्फत सुन्दर गोल गरेका थिए । त्यसपछि दबाबमा परेको अफगानिस्तानले खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोल भने गर्न सकेन । खेल सकिन केही समय बाँकी रहँदा अफगानिस्तानविरुद्ध भारतका अनिरुद्ध थापाले अर्को एक गोल थप्दै २–० को स्थितिमा पुर्याएर जीतलाई सुनिश्चित गरे । उनले ८७ औं मिनेटमा गोल गरेका थिए ।

खेल सकिनै लाग्दा अफगानिस्तानका गोलकिपर मोहम्मद नविदले दोहोरो पहेँलो कार्डसँगै रातोकार्ड पाएका थिए ।
यो जीतपछि भारतको सेमिफाइनल प्रवेशको सम्भावना बढेको छ । भारतले अब समूह ’बी’मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

यो समूहको पहिलो खेलमा अफगानिस्तानले माल्दिभ्सलाई ३–० ले हराएको थियो ।

Comments

comments