काठमाडौँ । सीमांकनसहित विवाद टुङ्गोमा पुराउन दलहरुले आज पनि छलफल गर्ने भएका छन् ।

आज दिउँसो बस्ने विशेष समितिको बैठकले संविधानका विवादित विषयमा छलफल गर्ने र टुङ्गोमा पुराउने नेताहरुले बताएका छन् । बैठक दिउँसो १ बजे सिंहदरबारमा बोलाइएको छ ।

प्रमुख राजनीतिक दलले सीमांकनबाहेक संविधानका विवादित विषय टुंगो लगाएको बताएका छन् । सीमांकन पनि आजसम्म टुंग्गोमा पुग्ने नेताहरुको भनाइ छ । धर्मनिरपेक्षता र थ्रेसहोल्डलाई संविधानको अन्तिम विधेयकमा संशोधन हालेर टुंगो लगाउने विधि तय गरिएको छ ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले सीमांकनबाहेक सबै विषय टुंगो लगाएको र सीमांकन मिलेपछि एकैपटक समस्या सार्वजनिक गर्ने बताउनुभयो ।

थ्रेसहोल्डबारे साना दलको तीव्र विरोध रहेकाले पनि अन्तिममा टुंगो लगाउने सहमति भएको छ । सीमांकनमा पहिले ४, ५ र ६ नम्बर प्रदेशका सम्बन्धमा विवाद देखिए पनि अहिले २ नम्बर प्रदेशमा पनि आन्दोलन चर्किएपछि कसरी टुंगो लगाउने भन्नेमा छलफल केन्द्रित छ ।

यसैबीच मस्यौदा समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ ।

Comments