काठमाडौं । बुधवार नागपञ्चमी पर्व । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्वाद भएको पौराणिक प्रसंगका आधारमा यस तिथिलाई नागपञ्चमी पर्व मानिएको हो । ब्रह्मासँगको संवादपछि विषधर नागहरु शान्तभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका अवसरमा घरघरमा अनन्त वासुकि कुलिर कर्कोटक लगाएत अष्टनागको तस्वीर टाँसेर दूध,पिउरी,दुबो,लावा चडाई पूजा गर्ने परम्परा छ । यसरी नागको पूजा गर्नाले रोगव्याधि नलाग्ने,अग्निभय चटयाङ तथा वज्रपातबाट जोगिने शास्त्रीय मान्यता छ । जलमूल तथा ठूला जलाशयमा पनि नागको पूजा गर्ने परम्परा छ । काठमाडौको केन्द्रमा रहेको नक्साल नागपोखरी,चोभारतल रहेको टौदह तथा ललितपुरको धापाखेलस्थित नागदहमा आज नागपूजा गर्नेको भीड नै लागेको छ ।

भगवान विष्णु समुद्रमा शेषनागको आशन बनाई शयन गर्नुहुने भएकाले उहाँलाई शेषशायी विष्णु भन्ने गरिन्छ । नागलाई जलका प्रतीकका रुपमा पनि सम्मान गरिन्छ । जलमूल तथा जलाशयमा रमाउने नागहरुलाई वातावरण शुद्धिका महत्वपूर्ण संकेतका रुपमा पनि लिने गरिन्छ ।

Comments