काठमाडौं ।सबै किसिमका भेदभावका बिरुद्धमा एकजुट हुने सन्देशका साथ काठमाण्डौमा गुलाफको फुल र राष्ट्रिय झण्डा बितरण गरिएको छ । बिभिन्न किसिमका रोगहरुका साथै असक्त र अपाङ्गता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याइ सकारात्मक सोचको बिकास गराउन कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको युवा मेलामा रोज मुभमेन्टका अगुवा सुशील कोइरालाले उपस्थित सहभागिहरुलाई गुलाफको फूल बितरण गर्नुभएको थियो । कार्यक्रममा ४०० वटा गुलाबको फूल र राष्ट्रिय झण्डाहरु बितरण गरिएको छ । यसअघि अमेरिका, युरोप र एसियाका बिभिन्न स्थानमा पनि यो अभियान चलाइसकेको जानकारी दिदैं कोइरालाले शनिवार समेत गरि जम्मा २० हजार गुलाफको फूल बितरण गरेको बताउनुभयो । १० लाख गुलाबको फूल बितरण गर्ने कोइरालाको लक्ष्य रहेको छ ।

एच.आइ.भी. एडस, कुष्ठरोग लगायतवाट संक्रमित, अपाङ्गता भएका ब्यक्तिहरु, महिला आदिको  आत्मबल बढाइ दिनुपर्नेमा जोड दिदैं समाजमा सकारात्मक सन्देश दिन तथा युवाहरु एकजुट भए देशलाई माथि उठाउन सकिन्छ भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा बिभिन्न गैह्रसरकारी संस्थाहरुले आयोजना गरेको कार्यक्रममा युवाहरुको रचनात्मकता तथा क्रियाशीलता झल्काउने बिभिन्न स्टलहरु पनि राखिएका थिए ।

Comments

comments