काठमाडौं । नेपाली चलचित्रका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको सोमवार एक वर्ष पूरा भएको छ । तर अझै पनि नेपाली चलचित्रका दर्शकहरुको मनबाट उनको स्मृति मेटिन सकेको छैन,बरु अझ कोहिनूर झैं टल्किदै गएको छ । उनको पूण्य तिथिको अवसरमा सोमवार उनको परिवार सहित नेपाली चलचित्र क्षेत्रले फेरि एकपटक सम्झिए श्रीलाई । बोलीचालीमा चलचित्रमा सकरात्मक भूमिका निर्वाह गर्ने पात्रलाई नायक भनिन्छ । तर केही यस्ता कलाकारहरु हुन्छन्,जो साँच्चिकै दर्शकको आँखामा नायक मात्र होइन आदर्श पनि बन्छन् । तिनै मध्येका एक थिए श्रीकृष्ण श्रेष्ठ ।

२०४५ सालमा बनेको चलचित्र ‘भुमरी’ मा सानो भूमिकामा अनिय गर्दै श्रीकृष्णले नेपाली चलचित्रमा पाइला टेकेका थिए । त्यसपछि सहनायकका भूमिकामा ‘कसम’ चलचित्र खेलेका उनले पहिलोपटक विश्व बस्नेत निर्देशित नाता चलचित्रबाट नायकका रुपमा अभिनय गरे । पहिलो चलचित्र नाताबाटै दर्शकहरुको मन र मुटुसँग नाता गाँस्न सफल भएका श्रीकृष्णले आफ्नो जीवनको अन्तिम घडीसम्म पनि त्यो नाता कायमै राखे । त्यही नाताको परिणामा स्वरुप उनको अन्तिम अत्येष्टिमा ओर्लिएको विशाल मानव सागरले उनी साँच्चिकै नायक रहेको प्रमाण दियो ।

करिब सयभन्दा बढी सिनेमा खेलेका श्रीकृष्णका धेरै चलचित्र बक्स अफिसमा सफल रहे । त्यसैले उनलाई हिट चलचित्र दिने भाग्यमानी नायक मानिन्छ । त्यसक्रममा उनले आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, हामी तीन भाइ, सुख दुस्ख, कहाँ भेटिएला जस्ता एकपछि अर्को हिट चलचित्रहरु दिए । शालीन र भद्र व्यक्तित्वका धनी उनी कहिल्यै कुनै लफडा र विवादमा फसेनन् । काम गर्ने सहकर्मीका नजरमा पनि श्री एक सहृदयी र मिलनसार व्यक्ति थिए ।

गत वर्षकै असार २३ गते अभिनेत्री श्वेता खड्कालाई जीवनसंगीनीका रुपमा भित्र्याएका श्री विवाह लगत्तै विरामी भए । उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका उनको अन्ततः बोन क्यान्सरबाट साउन २५ गते निधन भयो । संजोग कस्तो पर्यो भने त्यही साता उनको होम प्रोडक्सनको चलचित्र कोहिनूर रिलिज भएको थियो । त्यसैले कोहिनूलाई आफ्ना प्रिय नायकको अन्तिम निशानीका रुपमा लिएका दर्शकहरुको कोहिनूर हेर्न सिनेमा हलहरुमा ओइरो लाग्यो । फलस्वरुप नेपाली चलचित्रको इतिहासमै करिब १० करोड रुपैयाँ कमाउँने पहिलो र हालसम्मकै एकमात्र चलचित्रको रुपमा रहन सफल भयो ।

सोमवार स्वर्गीय श्रीकृष्णको वार्षिकीका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फेरि एकपटक श्रीलाई सम्झिए । श्रीको धर्मपत्नी तथा नायिका श्वेता खड्काले फेरि चलचित्र उद्योगमा फर्किने चाहना व्यक्त गरेकी छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि चलचित्रबाट टाढा रहेकी उनले आफूलाई हिम्मत दिन सबैसित आग्रह गरिन् ।

Comments

comments