सुर्खेत । संघीयताको सीमांकनप्रति असन्तुष्टि जनाउँदै सुर्खेतमा भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ ।

आन्दोलन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि जारी गरेको कर्फयू आदेश साँझ ९ बजे खुलेको छ ।  कर्फयूको आदेशपछि पनि आन्दोलनकारीहरु ढुंगामुढामा उत्रिएपछि प्रहरीले चलाएको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ । मृतक सुर्खेतकै टिकाराम गौतम र यामबहादुर बीसी रहेको जिल्ला प्रशासन कार्यालयका हितप्रसाद पौडेलले बताउनु भयो । आन्दोलनकारीहरुले नेपाली कांग्रेसका नेता एवम सुर्खेत क्षेत्र न.१ का सभासद पूर्णबहादुर खड्काको वीरेन्द्रनगर ८, इत्रामस्थित घरमा आक्रमण गर्न खोज्दा स्थिति तनावग्रस्त भएको हो । यसअघि आन्दोलनकारीले सुर्खेतस्थित विभिन्न राजनीतिक दलको पार्टी कार्यलयहरुमा तोडफोड गरेका थिए ।

प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालयभित्रै पसेर सीसीटीभी क्यामेरा, टेलिभिजन, फर्निचर तोडफोड गरेको प्रहरीले जनाएको छ । आन्दोलनकारीले प्रहरीको गाडीसहित ६ वटा सवारीसाधनमा पनि आगजनी गरेका छन् । गाडीमै रहेका नेपाल प्रहरीका चालक प्रहरी जवान वीर विष्टलाई बाहिर निस्कनै नदिई आन्दोलनकारीले आगो लगाएका थिए । बल्लतल्ल गाडिबाट निस्किएर ज्यान जोगाए पनि विष्टको हात जलेको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गर्नुका साथै हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनकारीको ढुंगा प्रहारबाट सशस्त्र प्रहरीका डीएसपी निरज देवकोटाको खुट्टा भाचिएको छ । प्रहरी र प्रर्दशनकारी गरी करिव डेढ दर्जन घाइते भएका छन् । प्रस्तावित संघीयताको सीमांकनमा सुर्खेत लगायत मध्यपश्चिमका ८ जिल्लालाई ६ नम्बर प्रदेशमा पारिएको विरोधमा सुर्खेतवासी आन्दोलनमा उत्रिएका छन् । जस अन्तर्गत आज सुर्खेत बन्दको आह्वान गरिएको हो । कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिममा पारिएको भन्दै नागरिकहरु आन्दोलित भएका हुन् ।

आन्दोलनकारीले भेरी कर्णालीलाई छुट्टै राज्य घोषणा गर्नुपर्ने बताएका छन् ।  बन्दमा जिल्लाका सबै राजनीतिक दल, संघसंस्था तथा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन् । मध्यपश्चिमलाई अखण्ड भएको घोषणा नभएसम्म आन्दोलन नरोकिने प्रदर्शनकारीहरुले बताएका छन् ।

Comments

comments