सिड्नी ।  कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टलाई सिड्नीमा सम्मान गरिएको छ । सुदूरपश्चिम समाजले उनलाई सुदूरपश्चिमसहित देशकै नाम विश्वमा चिनाउन सफल भएको भन्दै सम्मान गरेको हो । आफ्नी आमालाई भेट्न सिड्नी आएका बेला यो अवसर जुराइएको थियो । कार्यक्रम हम्बुसस्थित अन्नपूर्ण रेष्टुरेन्टमा गरिएको थियो । विष्टलाई एनआरएन संरक्षक ईन्द्रा वन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल र संस्थाका अध्यक्ष केशव जोशीले खादा ओढाएर सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नेपाली तेक्वान्दो टिमका राष्ट्रिय प्रशिक्षक समेत रहनुभएका विष्टले देश विदेश धेरै ठाउँमा सम्मान पाएपनि अष्ट्रेलियामा पाएको सम्मान फरक र विशेष रहेको बताउनुभयो । प्रशंसक र विदेशमा रहेका नेपालीहरुले राखेको अपेक्षा पूरा गर्न आपूm लागिपर्ने भन्दै विष्टले खेल्नभन्दा अरुलाई खेल्नसक्ने बनाउन अझै गाह्रो भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै एनअरएन अध्यक्ष सुरेन्द्र सिग्देलले देशको गौरवलाई अष्ट्रेलियाको भूमिमा स्वागत गर्न पाउनु खुसीको कुरा हो भन्दै नेपालको नाम विश्वमा चिनाउने काममा कुनै सहयोग गर्नसक्ने भए त्यसका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभयो । देशको नाम र ईज्जत राख्न अहोरात्र खेलको माध्यमबाट दिलाएको सफलताका लागि विष्टलाई एनआरएन उपाध्यक्ष दिनेश पोखरेल, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष विनोद श्रेष्ठ, एनआरएन पूर्वसचिव भरत पोखरेल, राजु मानन्धर, ऋषि आचार्य लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा उपस्थितहरुलाई गीता ओझाले स्वागत गर्नुभएको थियो भने सञ्चालन सुदूरपश्चिम समाजका उपाध्यक्ष श्याम पौडेलले गर्नुभएको थियो ।

Comments

comments