काठमाडौँ । संविधानको एकीकृत मस्यौदालाई दलहरुले आज अन्तिम रुप दिने भएका छन् ।

बिहान विशेष समितिको बैठक र साँझ राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बसेर अन्तिम रुप दिने नेताहरुले बताएका छन् । हिजो साँझको बैठकमा मधेसमा दुई प्रदेशसहित दलहरुले ६ प्रदेशको संघीय संरचनामा राज्यको पुनर्संरचना गर्ने सहमति गरेका छन् ।

दलहरुले नागरिकता धर्मनिरपेक्षता लगायतका विषयमा सहमति गरिसकेका छन् ।  संविधानको प्रारम्भिक मस्यौदामा ८ प्रदेश उल्लेख गरेर जनताको राय–सुझाव लिइएको थियो । प्रदेशका नाम भने प्रदेशसभाले टुंग्याउने गरी यसअघि मस्यौदामा रहेकै विषय राखिने सहमति छ ।

सीमाका सम्बन्धमा केही विवाद देखिए प्राविधिकसहितको आयोग बनाएर हेरफेर गर्न सकिने विकल्प पनि राखिने नेताहरुले बताएका छन् । सहमति गर्न आज बिहान ९ बजे विशेष समिति बैठक बोलाइएको छ ।
संवाद समितिको बैठक साँझ बेलुका ५ बजे बोलाउने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । दलहरुले तयार पारेको मोटामोटी सीमांकनमा कुनै पनि जिल्ला नटुक्र्याई राख्ने तयारी गरिएपछि कैलाली र नवलपरासी टुक्राउनुपर्ने प्रस्तावमा छलफल भइरहेको छ ।

Comments

comments