काठमाडौं । महानायक राजेश हमालले पहिलोपटक आफूलाई नेपाली हुनुमा लज्जाबोध भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार फेसबुकमार्फत स्टाटस लेखेर हमालले निराशा व्यक्त गरेका हुन् । उनले लेखेका छन्–‘जीवनमा पहिलोपटक नेपाली हुनुमा लज्जास्पद महसुस भयो ।’ हमालले हालै सिराहमा देखिएको छुवाछुतको विषम अवस्थाले आफूलाई यही देशको नागरिक हूँ भन्न समेत लाज लाग्ने परिस्थितिमा पुर्याएको बताए । शनिबार सिराहाको धनगढी गाविस ३ नयनपूरमा स्थानीय डोम परिवारमाथि भएको छुवाछुतको घटनाको प्रत्यक्षदर्शी बन्नुपर्दा हमाललाई पीडा भएको हो ।

हमालको साथमा डोम समुदायका युवक दिपक मलिक गाउँको इनारमा पानी भर्न जाँदा सारा गाउँले उल्टेर अवरोध गरेका थिए । हमाल चर्चित टेलिभिजन कार्यक्रम साझा सवालको छायाँकनका क्रममा
नयनपूर गाउँमा पुगेका थिए ।

नायक राजेश हमालको साथमा हिड्दै दीपक मलिक (डोम) जब इनारतर्फ खानेपानी भर्न लागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । गाउँका केही आफूलाई उपल्लो जातीको बताउनेहरु भने अगाडि उभिएका थिए । हमालले उनीहरुलाई इनारबाट पानी भर्न दिदा के हुन्छ भनेर प्रश्न गर्दा पुर्खादेखि डोमलाई ईनार छुन नदिएकाले अब पनि नदिने जवाफ पाएका थिए ।

यसपछि नायक हमाल निराश भएका थिए । गाउँका उपल्लो जातका भनिनेहरुले पानी निकालेर डोमको बाल्टी भरिदिएका थिए । अरु बेला पनि यस्तै गर्नुपर्ने डोमले हमाललाई बताएका थिए ।

हमालले नेपालभित्र नै यस्तो अवस्था देख्दा आफूलाई नेपाली हुनुमा ‘लज्जास्पद’ महशुश भएको फेसबुकमार्फत बताएका हुन् ।

Comments

comments