काठमाडौं । आठौं नेफ्टा अवार्डको मनोनयन शनिबार सार्वजनिक भएको छ । नेपाल चलचित्र प्राविधिक संघले कतारमा गर्न लागेको अवार्डमा ३५ विधामा अवार्ड प्रदान गरिने छ । अवार्डको मनोनयनमा चलचित्र टलकजंग भर्सेस टुल्के सबैभन्दा धेरै १५ विधामा मनोनयनमा पर्न सफल भएको छ ।

यस्तै चलचित्र जेरी १२, नोभेम्बर रेन १०, कबड्डी ९ तथा लज्जा ८ विधामा मनोनयनमा पर्न सफल भएका छन् । टलकजंग भर्सेस टुल्के उत्कृष्ट चलचित्र, निर्देशक, वर्षको लोकप्रिय चलचित्र, अभिनेता, अभिनेत्री, पटकथा, सम्वाद, कला निर्देशन, सम्पादन सहित १५ विधामा मनोनयनमा परेको छ । यस्तै जेरी उत्कृष्ट चलचित्र, वर्षको लोकप्रिय चलचित्र, निर्देशक, अभिनेता, छायांकन, सम्पादन, पटकथा सहित १२ विधामा मनोनयनमा परेको छ ।

नेफ्ना अवार्डको यसपटकको संस्करणमा उत्कृष्ट चलचित्रका लागि टलकजंग भर्सेस टुल्के, जेरी, कबड्डी, लज्जा र नोभेम्बर रेनबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै उत्कृष्ट निर्देशकमा नोभेम्बर रेनका दिनेश राउत, जेरीका हेमराज बिसी, लज्जाका नवल नेपाल, टलकजंग भर्सेस टुल्केका निश्चल बस्नेत र वान वे का सुरज सुब्बा मनोनयनमा परेका छन् । उत्कृष्ट अभिनेतामा नोभेम्बर रेनबाट आर्यन सिग्देल, कबड्डीबाट दयाहाङ राई, स्टुपिड मनबाट जीवन लुइँटेल, टुल्केबाट खगेन्द्र लामिछाने र उत्सवबाट सौगात मल्ल मनोयनमा परेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीमा नोभेम्बर रेनबाट नम्रता श्रेष्ठ, लोग्नेमान्छेबाट नन्दिता केसी, नाइँ नभन्नु ल ३ बाट प्रियंका कार्की, टलकजंग भर्सेस टुल्केबाट ऋचा शर्मा र श्री ५ अम्बरेबाट केकी अधिकारी मनोनयनमा परेका छन् ।

२०७१ साल भरिमा पर्दशनमा आएका चलचित्र मध्ये नेफ्टाका लागि दर्ता भएका ५० भन्दा धेरै चलचित्रबाट ६ जनाको जुरीले ३५ विधामा उत्कृष्ट पाँचको मनोनयन गरेको हो । अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारसँग सहकार्य गरी नेफ्टाले कतारमा यो वर्ष अवार्ड आयोजना गर्न लागेको हो । यसअघि नेफ्टाले नेपाल बाहिर मलेसिया र हङकङमा अवार्ड आयोजना गरिसकेको छ ।

Comments

comments