काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको हिजोको खेल बर्षाले अवरुद्ध भएको छ । बाँकी खेल आज हुनेछ ।

आज हुने खेलमा स्कटल्याण्डले जितका लागि २० ओभर २ बलमा ९५ रन बनाउनुपर्नेछ ।  खेलको दोस्रो इनिङ बर्षाका कारण ढिला भएपछि डकवर्थ लुईस नियमका आधारमा स्कटल्याण्डलाई २२ ओभरमा १ सय १० रनको लक्ष्य दिइएको थियो । तर स्कटल्याण्डले १ ओभर ४ बलमा १५ रन बनाउदा पुनः बर्षा बाधक बनेपछि एम्पाएरले बाँकी खेल आज गराउने निर्णय गरेका हुन । आज स्कटल्याण्डलाई जितका लागि २० ओभर २ बलमा ९५ रनको अवस्यकता पर्नेछ ।

यसअघि आयर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाउदै १ सय ६७ रनको सामान्य योगफल बनाएको थियो । नेपालका लागि मध्यक्रमका शरद भेषवाकरले सर्बाधिक ३० रन जोडेका थिए । स्कोर बोर्डमा ४१ रन हुँदा माथिल्लो क्रममा महत्वपुर्ण चार ब्याट्सम्यान गुमाएको नेपालका लागि पांचौ विकेटका लागि शरद भेषावकर र प्रदिप ऐरीले ३३ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए । ऐरी १६ रनमा पेभेलियन फर्किए । यस अघि ३ रनको ब्यक्तिगत स्कोरमा ओपनर महेश क्षेत्री आउट भए संगै नेपालको विकेट पतन सुरु भएको थियो । पहिलो खेलमा शतक पुरा गरेका अर्का ओपनर अनिल ९ रनमा आउट भए । ।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल पनि लामो समय क्रिजमा टिक्न सकेन्न । मल्ल १६ र पारस १० रनमा मैदान बाहिरए । १६ रन बनाए संगै मल्ले लिस्ट ए क्रिकेटमा ४ सय रन पुरा गरेका छन । लिस्ट ए मान्यता प्राप्त खेलमा चार सय रन पुरा गर्ने मल्ल पहिलो नेपाली खेलाडी हुन् । नेपालको इनिङमा बसन्त रेग्मीले १९, अभिनाश कर्णले १७ र पृथु बास्कोटाले १६ रनको योगदान दिए । स्क्टल्याण्डका अलासदैर इभान्सले ३ विकेट लिए । नेपालले पहिलो खेलमा तीन रनको झिनो हार बेहोरेको थियो ।

Comments