काठमाडौं । धान दिवसको अवसरमा महिलामाथि अश्लिल हर्कत गरेपछि कृषिमन्त्री पदबाट राजीनामा दिएका हरिप्रसाद पराजुली यतिबेला गुमनाम छन् । चौतर्फी आलोचनापछि राजीनामा बुझाएका पराजुली यतिबेला बेकामे मात्रै भएका छैनन् प्रभूको शरणमा पुगेका छन् ।

राजधानीको मूलपानीमा महिलामाथि करिब ४० सेकेण्ड गरेको व्यवहारले पराजुलीको जीवनको बाटो नै बदलिदियो । बहालवाला कृषिमन्त्री पराजुलीले महिलामाथि अश्लिल हर्कत गरेको आज एक महिना पुगेको छ । एक महिनासम्म उनी घरबाहिर त्यति निस्केका छैनन् ।

महिलामाथिको अश्लिल हर्कतपछि चौतर्फी आलोचनाको शिकार बनेका पराजुलीले १७ असारमा राजिनामा दिएका थिए । पराजुलीका स्वकीय सचिवालयका कर्मचारीका अनुसार, राजिनामा दिएको भोलिपल्टै पराजुली चितवनतिर हानिए । चितवनको धार गाउँमा पराजुलीको स्थायी घर छ । आलोचना चौघेरा सहन नसकेर उनी एक हप्ता परिवारसँगै बसे । परिवारमा उनकी श्रीमती र एक छोरा छन् ।

हप्तादिनपछि चितवनबाट पराजुली काठमाडौं फर्किएका थिए । काठमाडौंको अनामनगरमा डेरा थियो । छोरी उनीसँगै बस्दै आएका थिए । ‘अहिले उहाँ किसानको केन्द्रीय कार्यलयमा जानुहुन्छ ।’ नीजि सचिवालयका कर्मचारी हेमचन्द्र खतिवडाले भने, ‘समय परिवेशले यस्तो हुनुपर्यो, यसले राजनीतिक गतिविधिमा खासै असर गरेको छैन ।’

पराजुली किसान महासंघको केन्द्रीय सचिव हुन् । स्वकीय सचिवालयका कर्मचारीका अनुसार, उनी बिहान २–३ घण्टा कृषि सम्बन्धी किताब पढेर समय बिताउने गर्छन् । हरेक बिहान मन्दिर जाने र पुजा गर्ने गर्छन् । ‘उहाँ धार्मिक मान्छे पनि हुन् ।’ खतिवडाले भने, ‘नसोचेको घटनाले झनै धार्मिक बनाएको छ ।’

पराजुलीलाई आएको चौतर्फी दबाबले उनले मोबाइल नम्बरसमेत परिवर्तन गरेका छन् । पराजुलीको पुरानो ९७४१०४४५५६ को नम्बर अहिले उनी चलाउँदैनन् ।

उनको नयाँ नम्बरमा सम्पर्क गर्दा संक्षिप्त कुराकानीमा उनले भनेका छन्, ‘धर्मकर्ममा लागेको छु , यतिबेला रघुपति राघव राजाराम…. भन्दै मन्दिर जान्छु, घण्टा हल्लाउँछु ।’

source :khabardabali

Comments