काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेले, नेपाली टोली आफ्नो लयमा फर्किएको बताएका छन ।

बिश्व क्रिकेट लिग च्याम्पियन्ससिप अन्तर्गत स्क्टल्याण्ड संगको पहिलो खेलमा तीन रनको साघुरो हार व्यहोरेपछि प्रशिक्षक पुवुदको यो भनाइ आएको हो । दशानायकेले जित्नै पर्ने खेलमा पुरै टिमले कडा संघर्ष गरेको तर जीत हात पार्न भने नसकेको धारणा राखे । आयरल्याण्डमा खराब प्रदर्शन गर्दै ट्वान्टी ट्वान्टी विश्वकपमा लागि छनौट हुन नसकेपछि नेपाली टिमको आलोचना भएको थियो । तर नेपालले स्कटल्याण्ड संग भने सुधारिएको ब्याटिङ प्रदर्शन गर्दा अनिल मण्डलले शतक र पारस खड्काले ७० रन बनाएका थिए । टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले नेपाल सामु ३६ ओभरमा ७ विकेट गुमाउदै २ सय ३६ रनको लक्ष्य पेश गरेको थियो । तर नेपालले पुरै अ‍ोभर खेल्दै ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाएपछि ३ रनको पीडादायी हार व्यहोरेको थियो  । बर्षाले मैदान ओसिलो भएका कारण ढिलो सुरु भएको खेल ५० ओभरबाट ३६ ओभरमा झारिएको थियो । आफ्ना खेलाडीले मैदानमा गरेको कडा मेहनत प्रति आफुलाइ गर्व लागेको दशानायकेले बताए । आयरल्याण्डमा गुमेको आत्मबिश्वास स्कटल्याण्डमा प्राप्त भएको उनको भनाइ छ ।

आत्मबिश्वासकै कारण अनिल र पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेको बताएका दशानायकेले महेश क्षेत्री र ज्ञानेन्द्र मल्लको ब्याटिङको पनि प्रसंशा गरे । सबै खेलाडीको प्रदर्शनबाट संतुष्ट भएको बताएका दशानायकेले कसरी गेम फिनिस गर्ने भन्ने बारेमा भने सिक्न आबश्यक रहेको उल्लेख गरे । नेपालले स्क्टल्याण्ड संगको दोस्रो खेल शुक्रबार खेल्दैछ । दशानायकेले स्क्टल्याण्ड उत्कृष्ट ब्याटिङ लाइनअप भएको टिम भएकाले उनीहरुलाई राम्रो संग सम्हाल्नु पर्ने बताए । अवस्था हेरेर प्लेइङ इलाभेन परिवर्तन हुन सक्ने पनि दशानायकेले जानकारी दिए ।

त्यस्तै कप्तान पारसले अझै खेल नसकिएको भन्दै सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने धारणा राखेका छन ।

Comments