काठमाडौ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीका विभिन्न समयमा खिचिएका तस्वीरहरु चोरी भएको अधिकारवालाले बताएका छन् । मदन भण्डारीको युवा अवस्थादेखिका विभिन्न समयका तस्वीरहरु मूल अधिकारवाला फोटोग्राफरलाई जानकारी नै नदिई चोरी गरेर सार्वजनिक प्रयोग गरिएको दावी फोटोग्राफर नरेश श्रेष्ठले गरेका छन् । आफूले २०४७ सालमा खिचेका तस्वीरहरुसहित सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, जीवराज आश्रितलगायतका तस्वीरहरु पाइरेसी गरेर सार्वजनिक प्रदर्शनीमा राखिएको श्रेष्ठले बताए ।

उनले भनेका छन् – ‘हाल काठमाडौंको ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा साउन १० गतेदेखि १६ गतेसम्म सांस्कृतिक संग्रहालय नेपालले गरिरहेको फोटो प्रदर्शनीमा राखिएका करिब १५० तस्वीर म अधिकारवालाको अनुमतिविना सार्वजनिक प्रदर्शनीमा राखिएकोले नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ का आधारमा कारवाही गरिपाउँ भनी सम्बन्धित निकायमा निवेदन दिइसकेको छु ।’

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र महानगरीय प्रहरी परिसर टेकुमा आवेदन दिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको समेत उनले बताए ।

प्रतिलिपि अधिकार ऐन २०५९ ले स्रष्टालाई सर्वाधिकार दिई आर्थिक र नैतिक दुवै अधिकार प्रदान गरेको छ । स्रष्टाका सिर्जनाअन्तरगत तस्वीर पनि पर्ने भएकाले तस्वीरको प्रयोग गर्दा सम्बन्धित फोटोग्राफरको अनुमति लिनुपर्ने, आर्थिक अधिकारअन्तरगत उससँग किन्नुपर्ने र नैतिक अधिकारअन्तर्गत अनिवार्य रुपले उसको नाम फोटो सिर्जनामा उल्लेख गर्नुपर्ने हुन्छ । तर सांस्कृतिक संग्रहालयले नरेश श्रेष्ठको नाम समेत तस्वीरमा उल्लेख नगरी प्रदर्शनीमा राखेको र उनलाई कुनै पारिश्रमिकको समेत व्यवस्था गरिएको छैन ।

कहाँबाट चोरिए तस्वीरहरु

फोटो पत्रकार नरेश श्रेष्ठले केही वर्षपहिले मदनआश्रित प्रतिष्ठानका लागि तस्वीहरु दिएका थिए । ती तस्वीरहरु मदन आश्रित प्रतिष्ठानको ग्रन्थको प्रयोजनका लागि मात्रै दिइएको दावी उनको छ । मदन आश्रित प्रतिष्ठानबाट नै ती तस्वीरहरुको पाइरेसी भएको अनुमान गरिएको छ ।

Please follow and like us:

Comments