काठमाडौं । प्रमुख चार दलका शीर्ष नेताहरुले साउन मसान्तभित्रै संविधान जारी गर्ने निर्णय गरेका छन् । साउन मसान्तमा संविधान जारी गर्नका लागि केही प्रावधानलाई निलम्बन र प्रकियालाई छोट्टाउने निर्णय समेत गरेका छन् ।

शुक्रबार बेलुका बालुवाटारमा बसेको प्रमुख चार दलका शीर्ष नेताहरुको बैठकले जनताबाट आएको सुझावलाई सम्मान गर्दै साउन मसान्तभित्रै संविधान जारी गर्ने निर्णय गरेको हो ।  संविधान निर्माणको प्रगति र प्रक्रियाका बारेमा छलफल गर्न बसेको शीर्ष बैठकले सुझाव संकलनमा जनताको उत्साहजनक सहभागिता रहेको निश्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत चारै दलका वरिष्ठ नेताहरु सहभागी हुनुहुन्थ्यो ।

शीर्ष वैठकमा संविधानको मस्यौदामा जनताबाट आएका सुझाव र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणको क्रममा भारतीय नेतृत्वबाट प्राप्त सुझावका बारेमा समेत छलफल भएको थियो । यस्तै राष्ट्रपति डाक्टर रामवरण यादवले  प्रधानमन्त्री, सभाध्यक्ष तथा दलका नेताहरुलाई बोलाएर दिएको सुझावबारे पनि बैठकमा छलफल भएको थियो ।

Please follow and like us:

Comments