-ईश्वर देवकोटा

गुरुजी भोलि के हो ? गाडी चल्छ कि चल्दैन ? दक्षिणकाली  यातायातका एक यात्रुले चालकलाई सोधे | जवाफमा चालकले भने “ भोलिघोड़े जात्रा , गाडी चल्दैन आ आफ्नो घोडा चढेर आउनु सबजना |”  बसका अरु यात्रु गलल्ल हाँसे | बस चालकले अर्को कुरा थपे- “म नेता हो कि नेताको को झन्डा बोकेर हिड्या कार्यकर्ता हो र मलाई सोध्या ! बन्द गर्नी गाडी डाइभरले हो झैँ सोध्छन् गाँठे | के भाको आजकालको मान्छे |” एकजना भलादमीले बडो शिष्ट भाषामा बोले “ मान्छेका अनेक योजना हुन्छन् , भइ परि आउँने काम हुन्छ | बन्द भन्ने थाहा नपाएर त दुख हुन्छन् | अग्रिम जानकारी भयो भने सजिलो हुन्छ भनेर पो सोध्या होला त | थाहा पा’को कुरा भन्दिए कसको के जान्छ र |” चालकले ति  भलादमीका कुरा नि बीचमा काटे- “ थाहा पा’को कुरा नि सोझो बताउने जमाना छैन हजुर, मान्छेले उल्टो आरोप लाउँछ | बरु चुप लाग्यो , आफ्नो बाटो हिड्यो | यो भलाई गर्ने जमाना होइन | “ भलादमी यात्रुले झनै भलादमी कुरा झिके- “ तपाई हामी सबले सबैलाई भलाई गर्ने  जमाना नै हैन भनेर सिकाउदै हिडेर बन्ला त यो मुलुक ? यो जमानालाई दोष दिएर कुभलो चिताउने हामी जस्ताको देश नाबिग्रे कसको बिग्रन्छ |“

“अहिले देश विक्षिप्त अवस्थामा छ | गम्भीर संकट पैदा भएको छ | देशमा विनाशकारी भूकम्प गएको छ | सरकारकै तथ्यांकअनुसार ८ हजार ८ सय नागरिकको मृत्यु भएको छ | लगभग २३ हजार घाइते छन् | ४ लाख ५० हजार जनता बिस्थापित छन् | कयौं बस्तीहरु खतरामा छन् | कम्पनले थर्किएका पहाडहरु खस्ने अवस्थामा छन् | वर्षा याम सँगै बाढी पहिरोको जोखिम बढी रहेकै छ | क्षति भै रहेको खबर आइरहेकै छ | भूकम्प पश्चात देशको कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशत धन सम्पति नष्ट भएको छ | “ यो उल्लेखित कुराहरु कपोलकल्पित हुदै होइन | नेपाल कम्युनिष्ट पार्टी माओवादीको नामबाट जारी एउटा पर्चा जो हातमा परेको छ , त्यसको एक अंश यहाँ साभार मात्रै गरेको हुँ | नेपाली जनतालाई बिपदले परेको बिचल्ली हामी भोग्नेलाई मात्र होइन , अहिले संसार भरका सुचनामा पहुँच भएकालाई थाहा भएकै कुरा हो | यो बिपद्का घडीमा अरु आपत थप्ने रहर कसको होला ? विपदका बेला थप आहत हुन बाट जोगाउन आफ्नो तर्फबाट अरुलाई सघाउनु पर्ने रहेछ भन्ने पनि हामीले देखी सकेका छौं | राज्य पुग्न नसकेका ठाउमा नागरिकले स्वतस्फुर्त उपस्थित भएर स्वविवेकले उद्दार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याएको देखेर विश्व समुदायले समेत आपतमा जुट्ने तरिका नेपाली जनताबाट सिक्नु पर्ने बताई रहेकै बेला हामी जानी बुझी यथार्थमा आफैलाई सास्ती हुने र आफ्नै क्षतिहुने बन्दको कार्यक्रम घोषणा गरेर कसको पक्षमा न्याय गरि रहेका छौं कुन्नि | के हामी आजै बिकल्प बिहिन भैसकेका हौँ र ! बिगतमा भएका आन्दोलन र बन्द जस्ता कार्यक्रमबाट भएका उपलब्धिले हामी जनतालाई कुन सुनौलो उपहार मिलेको थियो , के साँच्चै बिर्सेका हौँ ?

राज्यका बागडोर सम्हाल्नेहरु सर्वदा सामर्थ्य हिन रहे | जनताका पक्षमा खोक्रा नारा ओकल्न बाहेक अर्को यिनको अर्को क्षमता देखिएन | जनताका आधारभूत आवस्यकता, राज्यको सार्वभौमिकता हाल सम्म गठित  कुनै पनि सरकारको पहिलो प्राथमिकतामा नपरेका विषय हुन् | पछिल्लो पटक उठेको “लिपुलेक भन्ज्याङ”को स्वामित्व नेपालको हुनुपर्छ भन्ने माग कुटनीतिक तवरबाट छिमेकी मुलुक भारत चीन सँग प्रत्यक्ष बसेर छलफल गरि टुंग्याउनु पर्ने विषय हो | यो कुरा राज्यका उच्चतम निकायका सबैलाई विदितै हुनुपर्छ | थाहा भएकै उहिकुरा सम्झाउन कुनै एउटा राजनीतिक दलले दवावका नाममा विकल्प संवाद र छलफलको बिकल्प नखोजी जनतालाई सास्ती दिने उही बन्दको सहारा लिनुको तुक केहि देखिन्न | हो देशका सीमा सुरक्षाका बारेमा राज्य सदैव संबेदनशील रहनु पर्छ | राज्य निदाएका बेला ब्युझाउनु पनि पर्छ | राज्य बिउझाउने नाममा हामी आफ्नै भएका सम्पति क्षति गराउन उद्दत हुनु कहाँ सम्मको बौद्दिक निर्णय गर्दैछौं भन्ने अब पनि नसोच्ने हो र ? देशनै बन्द गराउन सक्छु भन्ने हैसियत राख्ने बलियो राजनीतिक दलले राज्यको कुनै प्रतिनिधि वा प्रधानमन्त्री सँग समय लिएर संवाद गर्न सक्ने क्षमता चै राख्दैन |  यदि त्यो क्षमता  राख्छ भने अहिले सम्म लिपुलेकको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी माओवादी कति पटक प्रधानमन्त्री कोइरलाको ढोकामा गयो राज्यका ध्यान आकर्षण गराउन ? राज्यका प्रतिनिधिले के जवाफ दिए ? रिसले सडकमा गोडा बजारेर , आफनै छाती पिटेर देश बुझिएको कतै सुनेका छौं र | निदाएकालाई बिउझाउने नै हो भने उसकै आङ्मा पानी खन्याउनु पर्छ आफ्नो आङ मा खन्याएर हुदैन |  नान्ग्लो ठटाउं अनि हात्ती तर्सिन्छ भन्ने जमाना यो होइन | छिमेकि राष्ट्र चीन र भारतका कुटनीतिक नियोग नेपालमै छन् | नेकपा माओवादीले त्यहाँ गएर सिधै दवाव दिने क्षमता अब किन नराख्ने | चुँ नबोली बस्ने उनीहरु हुन् , नेपाली जनता होइनन् |

 नेपाली जनता नि चाहन्छन् आफ्नो जन्मभूमिमा कसैले पाइला राख्नु अघि एक पटक अनुमति मागोस् | हाम्रा राजनीतिक दलका नेतृत्व राज्य सत्तामा उक्लिएको भोलि पल्ट देखि सत्ता मोहमा चुर्लुम्म डुब्छन् | पदका दिनगन्तीमा राज्यका महत्वपूर्ण जिम्मेवारी पाखा पर्छन् | लिपुलेक त पछिल्लो उदाहरण मात्रै हो , बारम्बार चर्चामा आउने सुगौली सन्धि देखिको सीमा प्रकरण खुलामञ्चमा जिब्रो फड्कार्ने र भद्रकाली र टुडिखेलमामा चक्कर लाउने नारा हुन् | त्यो भन्दा ठुला उपलब्धि हाम्रा हातमा परेकै छैन | देशको दक्षिणी सीमा दशकौं देखि अतिक्रमित छ | सीमामा बस्ने नागरिकहरु हरदिन लखेटिएका छन् | उनीहरुको परिचय राज्यले दिन सक्दैन | प्रत्यक्ष पिडा भोग्ने सीमाका नागरिक छन् | हातमा नेपाली लालपुर्जा बोकेर भारतीय नागरिक बन्नु पर्दाको पीडा राजधानीमा बस्नेले अनुमान समेत गर्न सक्दैनन् सायद |  तत्कालिन समयमा सीमा अतिक्रमण विरुद्ध सशक्त माग राखेर राज्य विरुद्ध युद्धमा नै होमिएको प्रचण्ड नेतृत्वको माओवादीले समेत सत्तामा पुगे पछि आफ्नो नारा भुसुक्कै बिर्सियो | आशा गरिएका डा. बाबुराम भट्टराईको नेतृत्वले समेत भारत सँग सीमा विवादमै केन्द्रित भएर कुनै संवाद गर्न सकेन | भोलि कुनै संयोग त्यस्तै मिल्यो र यो देशमा नेत्रबिक्रम चन्द “विप्ल”  नै नेतृत्वमा आए भने उनले सीमा समस्या सुल्झाउने छन् भन्ने विश्वास आजै जनताले गर्दैनन् | त्यतिबेला प्रचण्ड नेतृत्वमा रहेका विप्लपको असन्तुष्टि अहिले यो सीमा कै बिषयलाई लिएर त्यहि पुरानो नेतृत्व विरुद्ध हो भने सिधै प्रचण्ड माओवादी सँग प्रत्यक्ष छलफल गर्न पहल गर्दा जनताले सास्ती भोग्नु पर्दैन थियो कि ! जनता आन्दोलनका नाममा भोग्नु पर्ने अनावस्यक सास्तीबाट अजित छन् | २०६२ /६३ को १९ दिने जनआन्दोलन पश्चात पनि थुप्रै नेपाल बन्दका कार्यक्रमका चरण बद्ध शृंखला हामीले देखेकै हौँ | कुनै पनि बन्दका क्रममा बन्द गराउनकै निम्ति सडकमा स्वतस्फुर्त उत्रिने जनता को थिए ? थिए त मात्रै तिनै दल विशेषका प्रशिक्षित कार्यकर्ता | दल विशेषका कार्यकर्ता मात्र राजनीतिक दलका निम्ति “जनता” हुन् भने तिनीहरुलाई मात्र एकत्रित गरेर सिंहदरबार, बालुवाटार र दुताबास घेर्न जाउ | सर्वसाधारण हिड्ने बाटो घाटो, ज्याला मजदुरी गर्ने कार्यस्थल, छोरा छोरी पढ्ने विद्यालयमा अवरोध गरेर तोडफोड गरेर देशलाई घाटा पुर्याउने केटाकेटी बुझाई त्याग्नु बुद्दिमानी होला | के यस्तै बन्दले तपाई हाम्रो मुलुक “नेपाल” बन्ला र ? बन्छ त मात्र एक वा दुई दिनका निम्ति सन्चार माध्यममा समाचारका हेडलाइन | के यहि हो हामीले खोजेको उपलब्धि ?

Please follow and like us:

Comments