काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सडक सुनसान भएका छन् । एकाबिहानै बन्दकर्ताले राजधानीको विभिन्न स्थानमा आगजनी र तोडफोड गरेपछि अन्य सवारी साधान समेत चल्न सकेका छैनन् ।

काठमाडौं सहित देशभरको सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । यसैबीच राजधानीका सडकहरुमा बिहान सर्वसाधारण भन्दा धेरै प्रहरी देखिएका छन् । बन्दलाई थप हिंसात्मक हुन नदिन प्रहरीले विप्लव माओवादीका केही कार्यकर्ताहरुलाई पनि नियन्त्रणमा लिएको छ ।

राजधानीको कलंकी, बालाजु, चाबहेल, गौशाला, कोटेश्वर, सातदोवाटो, भक्तपुरको सुर्यविनायक, च्यामासिंह् बानेश्वर, रत्नपार्क क्षेत्रमा अहिले सवारी साधन निक्कै कम चलेका छन् । राजधानीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि चल्न नसकेको र नयाँ बसपार्क तथा पुरानो बसपार्क पूर्णरुपमा सुनसान देखिएको हाम्रा समाचारदाताले बताएका छन् ।

बन्दको क्रममा रेडक्रस, एम्बुलेन्स, दुधको पानीको, पत्रकारको तथा मानवअधिकारवादी संघसंस्थाको सवारी साधन निर्वाध रुपमा चल्न दिने विप्लव माओवादीले जनाएको छ ।

राजधानी उपत्यकाको अहिलेको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी प्रधान कार्यालयले खबरडबलीलाई जनाएको छ । भारत–चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा तथा संविधानको प्रारम्भीक मस्यौदा जनताको विरुद्धमा रहेको भन्दै विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरिएको जनाएको छ ।

Comments

comments