काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले अब बन्ने संविधानमा आफ्नो भूमिका कटौति नगर्न आग्रह गर्नुभएको छ । पूर्व राजा शाहले संविधानको मस्यौदामा त्रुटि रहेकोले संशोधन गर्नुपर्ने बताउनुभएको छ ।  संविधानले कसैलाई काखा र कसैलाई पाखा लगाउन नहुने भन्दै उहाँले घुमाउरो भाषामा अब बन्ने संविधानमा आफ्नो लागि पनि स्थान सुरक्षित बनाइराख्न आग्रह गर्नुभएको हो । व्यवहारिक ढङ्गले मस्यौदा परिमार्जन गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभयो ।

हनुमान ढोका परिसरमा रहेको मख्खन महादेव मन्दिरमा आयोजित रुद्री तथा क्षमा पूजामा सहभागी हुदै पुर्वराजा ज्ञानेन्द्रले मस्यौदाले सवै नागरिकलाई समेटन नसकेको दावी गर्नुभयो । संविधानको मस्यौदामा नागरिकको चाहना र भावनालाई कदर नगरिएको भन्दै व्यवहारिक ढङ्गले मस्यौदामा संशोधन गर्न दलहरुलाई पूर्व राजाको आग्रह छ । विनाशकारी भुकम्पमा परी निधन भएकाहरुको मृतआत्माको चीर शान्ति र क्षमा याचनासहितको पूजामा पूर्व राजा ज्ञानेन्द्र रुद्र पूजा तथा होमादीमा सहभागी भएको पुजारी राजन महर्जनले जानकारी दिनुभयो ।  सानो पशुपतिको रुपमा चिनिएको मख्खन तथा महेन्द्रेश्वर महादेवमा पुजाआजा गर्ने शाहवंशका परम्परा अनुसार शाह सहभागी भएको पुजारी महर्जनको भनाई छ । दलहरुले गणतन्त्र भने पनि हरेक नेताहरुमा राजतन्त्र र हिन्दूत्वको शेष रहेको भन्दै सहभागीहरुले राजासहितको गोलमेच सम्मेलनको आवश्यक्ता रहेको बताएका थिए । मस्यौदा नौटंकी मात्र रहेको उनीहरुको आरोप थियो ।

Comments