काठमाडौं । नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि आम जनताको राय सुझाव संकलन गर्ने कार्य टुंगिएको छ । देशभर उत्साहका साथ सर्वसाधारणले संविधानमा आफ्नो राय सुझाव पेश गर्दा ठाउँ ठाउँमा विरोध र विवाद पनि भएका छन् । आफ्नो उत्साह र सुझाव संविधानमा लिपिबद्ध हुनेमा आम सर्वसाधारण आशावादी रहदा सुझाव कार्यान्वयन नहुने होकी भन्ने आशंकाले पनि उनीहरुलाई उत्तिकै पिरोलेको छ ।

दुई दिने सरकारीइ विदाको सदुपयोग गर्दै गाउँ गाउँबाट जनताले संविधानको सुझाव संकलनका लागि खटिएको टोलीसमक्ष आफ्नो मत जाहेर गरेका थिए । गाउँको बाटोघाटो कुलोदेखि राज्य सञ्चालनको महत्वपूर्ण प्रावधानमा पनि उनीहरुले आफ्नो धारणा राख्न चुकेनन् । गाउँको वडा अध्यक्ष आफैले छान्न पाउने प्रावधान नहटाउन सुझाव दिएका उनीहरुले प्रधानमन्त्रीदेखि राष्ट्रपति सम्म आफैले छान्न पाउनु पर्ने सम्मका माग राखे । संघीयतालाई समस्या नबनाउन सुझाव दिदै जनताको मर्म अनुरुप साँध सीमाना छुट्याएर प्रदेशको नामांकन र सीमांकन गर्ने उपायहरु समेत उनीहरुले सुझाएका छन् । मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनु पर्ने मागमा भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताको एकमत देखिदा प्रस्तावित संविधानमा धर्मनिरपेक्षता अपरिवर्तनीय प्रावधानमा राखिएपनि त्यो प्रावधान धर्मराउने अवस्था देखिएको छ ।

यस्तै नागरिकतामा लिइएको नरम नीतिको कडा शब्दमा विरोध भएको छ भने नेताहरुको शैक्षिक योग्यतालाई संविधानमा नै व्यवस्था गर्नु पर्ने माग पनि मनग्ये उठेका छन् । कृषि प्रधान देशमा कृषिको महत्व मस्यौदाको महत्वमा नपरेको, युवाहरुलाई बेरोजगार बनाएर भत्तामा लगेर फसाउन खोजेको , शिक्षा नीतिलाई परम्परागत ढर्राबाट बाहिर ल्याउने प्रयास नभएको , महिलाको मुद्दामा अन्तरिम संविधानले गरेको व्यवस्था खुम्च्याएर कञ्जुस्याँई गरिएको जस्ता आवाजहरु पनि सुझावकर्ताहरुले घनिभूतरुपमा उठाएका छन् । उद्योग व्यवसायलाई बलियो बनाएर वैदेशिक रोजगारीको पलायनलाई रोक्नु पर्ने , उदार एवं खुला बजारमुखी अर्थतन्त्रको सिद्धान्तलाई अंगिकार गरिनुपर्ने लगायतका मागहरु पनि ज्वलन्तरुपमा उठेका छन् ।

यसैबीच संविधानको मस्यौदामा बिभिन्न माध्यमबाट राय सुझाव राख्ने क्रममा बेवसाईटबाट १७ हजार ३ सय ९५, इमेलमा ५ हजार ५ सय ६०, समितिमा सोझै १ सय ५३ , फ्याक्स मार्फत ९ सय ५३ , टोल फ्रीबाट २ हजार ४ सय १५ गरी २६ हजार ४ सय ९६ सुझाव आएका छन् । साथै संविधानसभा अध्यक्षलाई ९० वटा संस्थागत सुझाव आएका छन् ।

सोमबार सुरु भएको सुझाव संकलन कार्य मंगलबार पनि जारी राखिदा ठाउँठाउँमा विरोध र विवाद भएका छन् । राप्रपा नेपालले संविधानमा हिन्दू राष्ट्र कायम गराउन माग गर्दै देशभर विरोध जारी राख्यो भने नेकपा माओवादीका बिभिन्न समूह, संघीय समाजवादी फोरमले बिभिन्न स्थानमा अवरोध पु¥याएका छन् भने मधेशवादी दलहरुले सोमबारको राय सुझाव संकलन कार्यक्रममा दमन भएको विरोधमा मंगलबार तराई बन्द गरेको थियो ।

Comments