काठमाडौं । भाडाका आमाबाट सन्तान जन्माउने पद्धति (सेरोगेसी मदर)लाई वैधता दिन सरकारले तयारी गरेको छ ।

सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन् ।

काठमाडौंका केही निजी अस्पतालले अवैध रूपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यविधि बनाएर त्यसलाई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मन्त्रालयले कार्यविधि बनाउनुको सट्टा केही दिनअघि मात्रै सेवा दिने अस्पतालहरूका लागि मापदण्ड तयार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सेरोगेसी मदर)समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्डअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियू सेवालगायतका पूर्वाधार हुनुपर्ने मापदण्ड बनाइएको छ ।

‘मन्त्रिपरिषद्ले त कार्यविधि बनाउन भनेको थियो । तर, कार्यविधि नभएर मापदण्ड बनाइएको छ । सामान ल्याऊ, पैसा तोक र चलाऊ भनेजस्तै भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘यसले पहिलेदेखि अवैध रूपमा काम गरेका अस्पतालहरूलाई वैध रूपमा गर्ने बाटो खोलिदिएको छ ।’

नेपालमा सेरोगेसी सेवा लिन आएकाहरू अहिलेसम्म अस्ट्रेलिया तथा इजरायलका नागरिक बढी छन् । तर, उनीहरूले ल्याउने भाडाकी आमा भने अधिकांश भारतीय मूलका महिला छन् । स्रोतका अनुसार सेरोगेसी सेवा लिन आउनेहरू एकल पुरुष तथा गेहरू छन् । भारत तथा थाइल्यान्डमा स्थानीय महिलालाई नै प्रयोग गरी विदेशी नागरिकले बच्चा जन्माउन थालेपछि दुरुपयोग भएको भन्दै सेवा बन्द गरिएको छ । नेपालमा पनि आर्थिक प्रलोभनमा पारी महिलालाई कोख भाडामा दिन लालायित गर्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्ले गत असोजमा निर्णय गरेको भए पनि मन्त्रालयले कार्यविधि नबनाउँदासम्म कार्यक्रम अघि नबढ्ने भन्दै सूचना सार्वजनिक गरेको थिएन । मन्त्रालयका सूचना अधिकारी ऋषिराम पंगेनीले सूचना थाहा पाउनुपर्छ भन्दै निवेदन परेपछि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरिएको बताए । सेरोगेसी सेवा लिन कति संस्था सम्पर्कमा आएको भन्ने थाहा नभएको बताए ।

यस्तो छ मापदण्ड

सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला ९सेरोगेट मदर० विदेशी हुनुपर्नेछ । उनीहरूले सम्बन्धित अस्पतालको नियमअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् ।

सेरोगेसी सेवा दिने स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियूलगायतका पूर्वाधार हुनुपर्नेछ ।

के हो सेरोगेसी ?

पाठेघरमा बच्चा बस्न नसक्ने अवस्थामा सम्बन्धित महिलाबाट निकालेको डिम्ब र उनको श्रीमान्बाट लिइएको शुक्रकीटबाट कृत्रिम गर्भाधान गरेर भ्रुणको विकास गर्ने गरिन्छ । उक्त भु्रणलाई भाडामा लिइएकी महिलाको पाठेघरमा राखी बच्चा जन्माइन्छ ।

अस्पतालको प्रत्यक्ष निगरानीमा मात्र यस्तो सेवा सम्भव छ । श्रीमान्–श्रीमती र बच्चा जन्माउने महिलाबीचको सम्झौतामा यो प्रक्रिया अघि बढ्छ । त्यसरी भाडामा कोख दिने महिलालाई सेरोगेसी मदर भनिन्छ । उनीहरूले निश्चित रकम लिएर कोख भाडामा लगाउने गर्छन् ।

Comments

comments