मेलबर्न । नेपालको संविधान २०७२ को मस्यौदामा जनताको राय र सुझाव लिने क्रम अहिले जारी छ । निजामति कर्मचारी,सभासद र विभिन्न राजनीतिक दलका नेता,कार्यकर्ताहरु अहिले आ आफ्नो जिल्लाका निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । संविधानको मस्यौदामाथि सबैको सहभागीता रहोस् भन्ने उद्देश्यले नेपाल सरकारले साउन ४ र ५ गते सार्वजनिक विदा नै दिएको छ ।

यसैबीच संविधानको प्रारम्भिक मस्यौदामाथिको जनताको राय र सुझाव लिने कार्यलाई नेपालभित्र मात्र सीमित राखेको छैन । विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले पनि संविधानको मस्यौदामाथि आफूलाई लागेका कुरा सुझावका रुपमा पठाउँन सकिने व्यवस्था मिलाएको छ । यसका लागि सम्बन्धित मुलुकमा रहेको दूतावास वा एनआरएनए मार्फत सुझाव पठाउँन सकिनेछ ।

नेपाल सरकारले आवश्यक व्यवस्था सहित सुझाव आह्वान गरे बमोजिम अष्ट्रेलियामा रहेका नेपालीहरुले पनि संविधानको मस्यौदामाथिका आफ्ना सुझाव पठाउँने क्रमले तीव्रता पाएको छ । धेरै नेपालीहरुले अष्ट्रेलियाबाट पनि आफ्नो प्रतिक्रिया र सुझाव पठाइरहेको नेपाली दूतावास अष्ट्रेलिया स्रोतले हिमालयन कङ्गारुलाई बताए ।

क्याबेरामा रहेको नेपाली दूतावासले एक साता अघि नै एक विज्ञप्ति जारी गर्दै यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न पनि आग्रह गरेको थियो । अष्ट्रेलियासहित न्यजिल्याण्ड, फिजीसमेत हेर्ने यहाँको नेपाली दूतावासले ति क्षेत्रमा रहेका नेपालीहरुलाई सुझाव दिने कार्यलाई सहजकर्ताको भूमिका निर्वाह गरिदिन संघ संस्थाहरुलाई समेत अनुरोध गरेको छ । यसरी दिइने सुझावलाई प्रत्यक्ष रुपमा नेपाल सरकार परराष्ट्र मन्त्रालयको ईमेल [email protected] मा अथवा दूतावासको ईमेल [email protected] मा समेत पठाउन दूतावासले विशेष आग्रह गरेको छ । यसरी रायसुझाव पठाउन चाहनेले अन्तिम मिति २१ जुलाई भित्र पठाइसक्न पनि दूतावासले आग्रह गरेको छ ।

Comments

comments