मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चलचित्र ‘फोर्स टु’ मा रअको एजेन्टको भूमिकामा देखिने भएकी छन् ।

अभिनय देवले निर्देशन गर्ने यस चलचित्रमा उनका साथमा जो अब्राहम देखिनेछन् । यो चलचित्र ‘फोर्स’ को सिक्वेल हो ।

यस चलचित्र र भूमिकाबाट निकै उत्साहित सोनाक्षीले शनिबार ट्विट गर्दै यसबारेमा जानकारी दिएकी हुन् । चार वर्षअघि प्रदर्शनमा आएको चलचित्र फोर्समा जोनका साथै जेनेलिया डिसुजा, विद्युत जामवाललगायतले अभिनय गरेका थिए ।

स्टार नायक सलमान खानका साथ सुपरहिट चलचित्र ‘दबंग’बाट डेब्यु गरेकी सोनाक्षी अहिले सर्वाधिक रुचाइएकी नायिका मध्येमा गनिन्छिन् । उनी अभिनित अधिकांश चलचित्र हिट भएका छन् ।

निर्माणअघि उनलाई उत्साहित बताएको चलचित्र ‘फोर्स टु’ प्रदर्शनमा आएपछि उनको उत्साह कायम राख्न सक्छ कि सक्दैन, अहिले पर्खाइको विषय बनेको छ ।

Comments

comments