काठमाडौं । लामो समयदेखि नेपाली कामदार लैजाने प्रक्रिया स्थगित गर्दै आएको इजरायलले पुनः  नेपाली श्रमिक लैजाने भएको छ ।

नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको इजरायलले कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ ।

सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ ।

नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताउँनुभयो ।

नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको बताउँदै उहाँले त्यो चाँडै पूरा हुनेमा आशावादी रहेको बताउँनुभयो । श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको पनि उहाँले बताउँनुभयो ।

घरेलु कामदार, परिचारकरसुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेको उहाँले जानकारी दिनुभयो ।

कामदार चयन पारदर्शी ढङ्गले गरिने उहाँको स्पष्टोक्ति थियो ।
साना किसान बैंकसँगको सहकार्यमा मासिक एक लाख २५ हजार तलब पाउने गरी १० महिने कृषि तालिमअन्तर्गत गत वर्ष दुई सय, यो वर्ष पाँच सय जना विद्यार्थी इजरायल गइसकेका छन्र । राजदूत मेयरले आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने घोषणा पनि गर्नुभयो ।

Comments