काठमाडौ  । विश्वकप टि-२० क्रिकेटमा छनोट हुनका लागि नेपालले आज छनोट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाको सामना गर्दैछ । नेपाली समयानुसार साँझ ७ बजे हुने खेलमा नेपाल अमेरिकालाई पराजित गर्दै विजयी सुरूवात गर्ने तयारीमा छ ।

यी दुवैबीच टि-२० को प्रतिष्पर्धा अहिलेसम्म भएको छैन् । तरपनि नेपालका लागि अमेरिका चिरपरिचित प्रतिद्धन्दी भने हो । अन्य क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकामाथी हावी हुँदै आएको छ र आजको खेलमा पनि हावी हुने सम्भावना रहेको छ ।

अमेरिकाका प्रमुख ब्याटस्म्यान तथा विकेटकिपर स्टेभन टेलरको अनुपस्थितिका कारण अमेरिकी टोली केही कमजोर भएको छ भने क्रिकेटको विवादका कारण पनि अमेरिकी क्रिकेट केही समययता खस्किएकाले नेपाल अमेरिकालाई पराजित गर्न सक्नेमा आशावादी छ ।

यता नेपालको पनि अवस्था पछिल्लो समयमा त्यति राम्रो भने देखीएको छैन् । विषेशगरी ब्याटिङमा नेपालको कमजोरी रहेका कारण पनि यसलाई थप सुधार्नुपर्ने देखिन्छ । तर, नेपालको ब्याटिङमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरले जस्तो सुकै अवस्थामा पनि खेल्न सक्ने भएकाले नेपालको ब्याटिङ केही आशालाग्दो छ । यस्तै, सुवास खकुरेल, प्रदिप ऐरी, सागर पुनले राम्रो प्रदर्शन गर्न नसकेपनि ब्याटिङ क्षमता भने कमजोर छैन् ।

तरपनि, नेपालको तुलनामा अमेरिका केही कमजोर नै देखिन्छ । पछिल्लो समय आईसीसीले अमेरिकाको क्रिकेट बोर्डलाई निलम्बन गरेपनि छनोटमा भने भाग लिन दिएको अवस्थालाई मात्र हेर्ने हो भने पनि अमेरिकी क्रिकेट खेलाडीको मनोबल कमजोर रहेको अनुमान पनि गर्न सकिन्छ । यसले पनि नेपाललाई फाइदा नै पुर्याउने छ ।

तर, अमेरिकाको यु-१९ का पूर्वकप्तान सिब वसियत र नयाँ खेलाडी अलेक्स आम्सटरडमले भने टेलरको अभावलाई खड्किन नदिने अनुमान गरिएको छ । यस्तै, कप्तान मोहम्मद घोष र बलर जमालीको प्रदर्शन नेपालका लागि टाउको दुखाईको विषय बन्न सक्छ ।

यस्तै, नेपालको प्रमुख हतियारको रूपमा रहेको स्पिन बलिङले आयरल्याण्ड र नेदरल्याण्डमा त्यति राम्रो प्रभाव पार्न नसक्ने भएपनि शक्ति गौचन र बसन्त रेग्मीको बलिङ अनुभवले नेपाललाई कमजोर बन्न दिने छैन् । साथै, तिब्र गतिका बलरहरू सोमपाल कामी, करन केसी, जितेन्द्र मुखिया र अभिनाश कर्णको बलिङले नेपाललाई बलियो साथ दिनेछ ।

दुवैको केही कमीकमजोरी तथा सबल पक्षलाई हेर्ने हो भने नेपाल नै बलियो अवस्थामा देखिन्छ र आजको खेलमा अमेरिकामाथी नेपाल नै हावी हुने देखिन्छ ।

Comments

comments