काठमाडौँ  ।  सार्वजनिक यातायातका साधनहरुमा चढेर नदेखे झैँ गरि छुने, जिस्किने, नक्कली विद्यार्थी परिचय पत्र बोक्ने, धुमपान गर्ने लगायतका बानी छ भने आजैदेखि त्यागि दिनुहोस्  । अझ युवती देख्ने बितिक्कै तास्सिने बानी छ भने अझ धेरै ख्याल गर्नुहोस् । तपाईको अगाडि उभिएकी युवती प्रहरी पनि पर्न सक्छ ।  सार्वजनिक सवारी साधनमा तपाईको हेलचेक्राइ र मनपरीले सार्वजनिक मुद्दा खेप्नु पर्ला  ।

सार्वजनिक यातायातका साधनहरुमा यस्तो बिकृति बढेको भन्दै प्रहरीले बिशेष योजना तयार परेको छ । यसका लागि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले उपत्यकामा आजदेखि अन्तरक्रिया अभियान शुरु गरेको छ । प्रहरीले शुक्रबार ललितपुरको लगनखेलमा एक कार्यक्रम गरि यातायात सेवा सुरक्षा साझा अभियान शुरु गरेको हो । यातायात व्यवसायी, मजदुर संगठनको पहलमा प्रहरीले यो शुरु गरेको हो ।

विद्यार्थी नक्कली परिचयपत्र बोक्ने, पाकेटमार, धुमपान गर्ने, महिलालाई अभद्र व्यवहार गर्ने जस्ता अपराध नियन्त्रणका लागि अभियान थालिएको एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए । “अहिले सम्म जे जस्तो भए पनि अबदेखि त्यस्तो समस्या नियन्त्रण हुन्छ” उनले भने । यसअघि ५ दिनसम्म सवारी साधनमा गोप्य रुपमा प्रहरी राखेर उसले समस्याहरु पहिचान गरेको थियो ।

हुन्  त यसअघि पनि हरेक साताको शुक्रबार ट्राफिक प्रहरी सार्वजनिक यातायातका साधनमा यात्रा गर्ने जनाएको थियो तर भूकम्पपछि यसले खासै निरन्तरता पाउन सकेको थिएन ।

Comments

comments