काठमाडौँ  । तपाईले कहिँ नभएको जात्रा हाँडी गाउँमा भन्ने त सुन्नु भएको होला   । तर यो लेख पढ्नु भएपछि भने कहिँ नभएको जात्रा हाँडी गाउँमा होइन  अफ्रिकामा भन्ने लाग्न सक्छ  । अफ्रिकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे नामको एउटा जनजाति अनौठो जात्रा मनाउँछ । हरेक वर्ष आयोजना हुने गेरवोल जात्राका क्रममा त्यहाँका पुरुष खुबै श्रृंगारपटार गर्छन् र महिलालाई रिझाउँछन् ।

उनीहरूको लक्ष्य खासगरी विवाहित महिला हुन्छन् । पुरुषहरू महिलाको मन जित्न अनेकौँ हर्कत पनि गर्छन् । यो जनजातिका पुरुष हरेक समय आफूसँग ऐना बोकेर हिँड्ने गर्छन् पनि भनिन्छ । जात्रामा आफ्ना पतिलाई छलेर विवाहित महिला श्रृंगार गरी आएका पुरुषलाई हेर्छन् र मन पर्‍यो भने उनीहरूसँग भाग्छन् । यदि कुनै विवाहिता महिला पुरुषसँग भाग्न सफल भएमा उक्त समुदायका मानिस उनीहरूबीच विवाह गरिदिन्छन् ।

यो जनजाति सहेल रेगिस्तानका अलावा अफ्रिकाका देशहरू नाइजर, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिजन र नाइजेरियामा पनि पाइन्छन् । जात्राका क्रममा नाचगानको पनि व्यवस्था हुन्छ । अरू वेलामा छरिएर बस्ने यो जनजाति जात्राको क्रममा एकजुट हुन्छ । उनीहरू जात्राको कार्यक्रम सकेसम्म गोप्य राख्छन् ।

Comments