काठमाडौं । टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट आजदेखि सुरु हुँदैछ । स्कटल्याण्ड र आयरल्याण्डमा हुने प्रतियोगितामा १४ देशको सहभागिता छ ।

२६ जुलाईसम्म चल्ने प्रतियोगिताले आगामी वर्ष भारतमा हुने विश्वकप खेल्ने अन्तिम ६ टोली तय गर्नेछ ।

प्रतियोगितामा सहभागी १४ देशलाई दुई समुहमा राखिएको छ । समुह एमा नेपाल सहित हङकङ, आयरल्याण्ड, जर्सी, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन् ।

समुह बीमा अफगानिस्तान, क्यानडा, केन्या, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड र युएई छन् । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक स्कटल्याण्ड र युएईले प्रतिस्पर्धा गर्ने छन् । खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

बेलुका सात बजे हुने अर्को खेलमा अफगानिस्तान र नेदरल्याण्ड प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेलमा भोलि शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल उपाधिको लक्ष्यसहित आयरल्याण्ड पुगेको छ ।

समूह चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टीम सेमिफाइनलमा पुग्दै विश्वकपका लागि छनोट हुनेछन् । समूह एको दोस्रो हुनेले बीको तेस्रो र एको तेस्रोले बीको दोस्रो हुने टीमसँग खेल्नेछ । यसमा विजयी हुने टीम पनि विश्वकपमा पुग्नेछ ।

यसमा पराजित दुबै टीमले चौथो हुनेसँग प्ले अफ म्याच खेल्नेछन् र विजेता टीम भारतमा हुने टी–२० का लागि छनोट हुने अन्तिम दुई टीम बन्नेछन् ।

Comments

comments