काठमाडौं । संविधानको प्रारम्भीक मस्यौदा मथिको छलफलको क्रममा सभासद्हरुले आवश्यक बिधि छोट्याएर भए पनि यथासक्दो चाँडो संविधान जारी गर्न सिंगो संविधानसभा लाग्नुपर्ने बताएका छन । समतामुलक र  समाबेशी संविधान निमार्णमा सम्झौता गर्न नहुनेमा जोड दिदै सभासद्हरुले प्रारम्भिक मस्यौदामा केहि त्रुटि रहेकोले संशोधन र परिमार्जनको आवश्यकता समेत औल्याएका छन् ।

नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथिको छलफलमा सभासद्हरुले मस्यौदामा नेपालको भावि राज्य प्रणालीको मार्गचित्र स्पष्ट रुपमा उल्ल्ेख हुनुपर्ने बताएका छन् । विधेयकको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रिया प्राप्त गर्नको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरि सार्वजनिक गरियोस भन्ने प्रस्ताव उपर विभिन्न सभासदहरुले आफ्ना धारणाहरु राखेका छन् । बैठकमा धारणा राख्दै एमाले सभासद माधवकुमार नेपालले जसरीपनि यथाशीघ्र यसै संविधानसभाले संविधान जारी गर्नुपर्ने वताँउनुभयो । जनताको सुझाव लिई ती सवै कुराहरुलाई लिपीवद्धगरि संविधान जारी गर्नुपर्ने सभासद् नेपालको भनाई थियो ।

त्यस्तै छलफलमा भाग लिदै एकीकृत माओबादी सभासद् अग्निप्रसाद सापकोटाले नेपाली जनताको ६५ बर्ष देखिको चाहना पूरा हुने दिन आएकोले संविधान निर्माणमा सवै गम्भीर हुनुपर्ने विचार व्यक्त गर्नुभयो । जनजाति दलित तथा सिमान्तकृतहरुको अधिकारका बिषयमा अझै मस्यौदामा  स्पष्टताका साथ उल्ल्ेख हुनुपर्ने उहाँको धारणा थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद दीपक वोहराले मस्यौदामा धर्म निरेपक्षताको प्रावधान समेटिनु आपत्तीजनक भएको भन्दै यसको  बिरोध गर्नुभयो । त्यस्तै संविधानको मस्यौदामा संघीयतावारेको व्यवस्था पनि अपुरो र अस्पष्ट भएकोले यसले आगामी दिनमासंकट ल्याउनसक्ने सभासद् बोहोराले  वताउँनुभयो ।

बैठकमा धारणा राख्ने सभासदहरुले मस्यौदा अपुरो भएको भन्दै यसमा आवश्यक परिमार्जन गरेर मात्र यस पछिको प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएका थिए । साथै संसदीय व्यवस्थालाई शुद्धिकरण गर्नको लागि कम्तीमा ५ प्रतिशतको मत प्रतिशत थ्रेशहोल्डको व्यवस्था गरिनुपर्ने बैठकमा बोल्ने सभासद्हरुको माग थियो । यस अघिका बैठकहरु जस्तै सोमवारको संविधानसभा बैठक पनि संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदुभावना पार्टी, तराई मधेस सद्भावना पार्टीले संविधानको मस्यौदा अपुरो तथा अस्पष्ट रहेको भन्दै बहिष्कार गरेका थिए । अपूरो मस्यौदामाथिको छलफलको औचित्य नरहेको उनीहरुको जिकिर छ  ।

Comments