विराटनगर । विराटनगरमा केही साता देखि नक्कली हजार र पाँच सय दरका नोटहरुको बिगबिगी बढेको छ । बजारमा नक्कली नोटको बिगबिगी बढेपनि प्रहरीले कुनै कारवाही थालेको छैन ।

फोटोकपी गरिएका नोटहरु पुरानो भएपछि प्रयोग गर्ने गरिएकाले सजिलै ठम्याउन नसकिएको पीडितहरुले बताएका छन् । यस्ता नोटहरुमा सक्कलीमा जस्तो गुँरासको पानी चिन्ह नहुने भएकाले सजिलै ठम्याउन नसकिएको उनीहरुले बताएका छन् ।

यस्ता नोटहरु सेवाग्राहीहरुको अत्यधिक भिड लाग्ने बैंक तथा वित्तीय संस्था, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी जस्ता कार्यालयहरुमा प्रयोग गरिएको भेटिएको छ । बिजुली, पानी र टेलिफोनको बील बुझाउनेहरु र बैक तथा वित्तीय संस्थामा गड्डीमा हालेर नक्कली नोट मिसाउने गरेकाले सम्बन्धित कर्मचारीहरु बढी पीडित हुने गरेका छन् । उनीहरुले आफ्नो पकेटबाट नक्कली नोटको भरपाई तिर्नुपर्ने हुन्छ ।

बजारमा नक्कली नोटको बिगबिगी बढेपनि प्रहरीले कुनै कारवाही थालेको छैन । प्रहरी कार्यालयमा उजुरी दिन नआएकाले आफुहरुले अनुसन्धान नथालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले नोट लिदा र दिदा सावधानी अपनाउन आग्रह गरेको छ ।

Comments

comments