काठमाडौँ । उपत्यकामा भूकम्पपछि आत्महत्याका घटना बढेका छन् । फागुन र चैतको तुलनामा वैशाख र जेठमा आत्महत्या गर्ने बढेको महानगरीय प्रहरी कार्यालयको विवरण छ । प्रहरीका अनुसार उपत्यकामा फागुनमा २६ जना तथा चैतमा २८ जनाले आत्महत्या गरेका थिए । १२ वैशाखको भूकम्पयता वैशाखमा ३६ जना तथा जेठमा ३१ जनाले आत्महत्या गरेका छन् ।

भूकम्पपछि आत्महत्या गर्नेको संख्या बढेको महानगरीय प्रहरीका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले बताए । भूकम्पले दिएको पीडाले पनि आत्महत्याका घटना बढेको हुनसक्ने प्रहरी अनुमान छ । सातजनाले त भूकम्पले ल्याएको मानसिक असन्तुलनका कारण नै आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा धेरै युवा छन् । २६ देखि ३५ वर्ष उमेरका १७, १६ देखि २५ वर्ष उमेरका १५ जनाले आत्महत्या गरेका छन् ।

अशिक्षितले धेरै आत्महत्या गरेको पनि प्रहरीको तथ्यांक छ । दुई महिनामा आत्महत्या गर्ने ६७ मध्ये ४३ जना साधारण लेखपढ गर्ने रहेको प्रहरीले जनाएको छ । स्नातकोत्तर पढेका एक, स्नातक पढ्ने पाँच, प्रवीणता पढ्ने पाँच र एसएलसी पढेका आठजना छन् । आत्महत्या गरेकामध्ये २० जना ज्याला मजदुरी गर्ने, १३ जना कृषि पेसा अपनाएका र १० जना विद्यार्थी छन् । जातको आधारमा जनजाति र नेवार धेरै रहेको प्रहरीले जनाएको छ ।

ख्याल गरौँ गाली गर्दा गुम्न सक्छन् छोराछोरी

छोराछोरीलाई सधैँ गाली गर्ने अभिभावकको बानीले छोराछोरी गुम्ने खतरा रहेको प्रहरीको अध्ययनले देखाएको छ । प्रहरीका अनुसार वैशाख र जेठमा उपत्यकामा आत्महत्या गर्ने ६७ मध्ये पाँचजनाले अभिभावककै गालीका कारण आत्महत्या गरेका छन् । किशोर अवस्थामा छोराछोरीलाई गाली गर्दा उनीहरूले आत्महत्या गर्ने प्रवृत्ति देखिएको प्रहरीको अनुसन्धानमा उल्लेख छ । अभिभावकले राम्रो उद्देश्यले गाली गरे पनि छोराछोरीमा त्यसकै आवेगमा आत्महत्या गर्ने मनोविज्ञान देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

आत्महत्याको कारणमा प्रहरीले पारिवारिक कलह भएको जनाएको छ । यो दुई महिनामा आत्महत्या गर्नेमध्ये २२ जनाले पारिवारिक कलह, १६ ले मानसिक समस्या, ६ जना आर्थिक समस्या, पाँचजना दीर्घरोग, पाँचजना अभिभावकको गाली, दुईजनाले प्रेममा धोका खाएका कारण आत्महत्या गरेको प्रहरीको विवरण छ । एकजनाले भने इच्छामृत्यु रोजेर आत्महत्या गरेको प्रहरीको भनाइ छ । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले इच्छामृत्यु रोजेको प्रहरीले जनाएको छ ।

Comments

comments