काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि आयोजक चिलीले उचालेको छ ।

सान्टियागोको राष्ट्रिय स्टेडियममा आइतबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको हो । निर्धारित ९० तथा अतिरिक्त समयको ३० मिनेटमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा चिलीका फर्नान्डेजले पहिलो गोल गर्दै १–० को अग्रता दिलाए । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै १–१ को बराबरी गरे पनि आर्टुरो भिडाल र चाल्र्स अरान्गेजले गोल गर्दा अर्जेन्टिनाका गोन्जालो हेगुइन र एभर बेनेगाले पेनल्टीमा गोल गर्न नसकेपछि चिली ३–१ ले अघि रह्यो । चौथो नम्बरमा पेनल्टी प्रहार गर्न आएका एलेक्स सान्चेजले गोल गर्दै चिलीलाई कोपा अमेरिकाको उपाधि दिलाए ।

गएको वर्ष विश्वकपको फाइनलमा पराजित भएको अर्जेन्टिना यसपटक कोपा अमेरिकाको फाइनलमा पनि पराजित भयो ।

Comments

comments