मेलबर्न । एनआरएन अष्ट्रेलियाको आगामी नेतृत्व चयनका लागि शनिवार निर्वाचन सम्पन्न भएको छ । छ वटै स्टेटमा निर्वाचन सम्पन्न भइसकेको निर्वाचन कमिटीले जनाएको छ । ग्रानभिलमा भने मतदान प्रक्रिया आधा घण्टा लम्बिएको थियो । निर्धारित समय भन्दा एक घण्टा ढिला सुरू भएको ग्राण्डभिल मतदान केन्द्रको मुख्यद्वारा साँझ ६ बजे नै बन्द भइसके पनि लाइनमा बसेकाहरूले मत नहालेका कारण ग्रानभिलको चुनाव आधा घण्टा लम्विएको थियो । कुल ३३ सय मतदाता रहेको ग्रानभिलमा करिव २२ सय मत खसेको अनुमान छ ।

यता भिक्टोरियाको मेलबर्नमा पनि शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको छ । निर्धारित समयमै बन्द भएको मतदानमा मेलबर्नमा ३७० मत खसेका छन् ।

उता एडेलेडको निर्वाचन पनि शान्तिपूर्ण रह्यो । करिब आधा घण्टा ढिला शुरु भए पनि मतदाताहरुले शान्तिपूर्ण र प्रजातान्त्रिक तरिकाबाट मतदान गरेको निर्वाचन कमिटीले हिमालयन कङ्गारुलाई बताए । त्यहाँ ३३३ मत खसेको छ ।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन अन्तर्गत पर्थमा पनि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । त्यहाँ पनि मतदान निर्धारित समय भन्दा आधाघण्टा ढिला सुरू भएको थियो । त्यहाँ कुल चार सय एक मतदाता रहेका छन् । अन्यत्रको तुलनामा पर्थको चुनाव प्रजातान्त्रिक रहेको थियो। उम्मेदवारहरू प्रचारप्रसारका लागि मतदान स्थल प्रवेश गर्न खोजेपछि निर्वाचन अधिकारीहरूले उनीहरूलाई रोकेका थिए ।

त्यस्तै यहाँका उम्मेदवारहरूले अरू क्षेत्रमा जस्तो जर्सी पहिरिएका थिएनन् भने मतदान स्थल वरपर कुनै पर्चा सामाग्रि र उम्मेदवारहरूको प्यानलगत सूची समेत बाँडिएको थिएन  ।

कम्प्यूटराइज्ड प्रविधिबाट निर्वाचन भएका कारण निर्वाचनमा केही ढिलाइ भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

मतदानमा नेपाली समूदायहरूको उत्साहजनक सहभागिता रहेको बताइएको छ । स्वयम्सेवकहरूले मतदानलाई व्यवस्थित बनाउनका लागि सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । आगामि नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रिएका भरत पोखरेल र सुरेन्द्र सिग्लेलबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

मतदान सकिएको तीन घण्टामै परिणाम आइसक्ने राष्ट्रिय निर्वाचन कमिटीले जनाएको छ ।
निर्वाचनमा जतिसुकै प्यानलको प्रचार गरिएको भएपनि परिणाम भने मिश्रित आउँने सम्भावना बढेको छ । यो निर्वाचनमा गुटबन्दीले झनै प्रश्रय पाएको छ । त्यसकारण जो बिजयी भएपनि हार्नेले उनीहरूलाई नसघाउने हो की भन्ने आशंकालाई पनि बल प्रदान गरेको छ

निर्वाचन कमिटीले यो निर्वाचन अत्यन्तै सरल र व्यवस्थित हुने भनिएपनि मतदाताहरूले केही हैरानी खेप्नुपरेको गुनासो समेत गरेका छन् । मतदान प्रक्रिया अत्यन्तै झन्झटिलो भएको उनीहरुको गुनासो थियो  । झण्झटिलो व्यवस्थाका कारण एकजना मतदातालाई मतदान गर्न आधा घण्टा सम्म लागेको थियो । विद्युतीय मतदान भएका कारण सफ्टवयरमा समस्या आएकोले मतदान थप अवरुद्ध भएको थियो ।

Comments

comments