काठमाडौं । चार ट्वान्टी ट्वान्टी खेलको शृङखला अन्तर्गत नेदरल्याण्डस भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो खेलमा पराजय बेहोरेको छ । ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक नहुदा नेपालले १८ रनको हार बेहोरेको हो ।

आम्स्टलभीनस्थित भीआरए मैदानमा टस हारेर ब्याटिङ रोजेको घरेलु टोली नेदरल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रनको सामान्य योगफल बनाएको थियो । नेदरल्याण्डसका लागि ओपनर स्टेफन माइवर्गले अविजित ६७ रनको योगदान दिए । त्यस्तै माईकल रिप्पोनले अविजित २५ रन बनाए । नेदरल्याण्डसका चार खेलाडीले दोहोारो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका स्पिनर बसन्त रेग्मीले दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट लिए । नेदरल्याण्डसका दुई ब्याट्सम्यान रनआउटको शिकार बनेका थिए ।

नेदरल्याण्डसले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १६ रनमात्र जोड्न सक्यो । नेपालका लागि कप्तान पारस खड्काले अविजित ४५ रन बनाउनुबाहेक अन्य सबैको प्रदर्शन फितलो रह्यो । तेस्रो ओभरमा टिमको स्कोर १२ हुदा ओपनर सुवास खकुरेललाई ब्यक्तिगत २ रनमा गुमाएको नेपालले छैटौं ओभरमा बिनोद भण्डारीलाई पनि गुमायो । टिमको स्कोर २५ हुदा उनी ब्यक्तिगत ५ रनमा पेविलियन फर्केका थिए । सातौं ओभरमा उपकप्तान ज्ञानेन्द्र मल्ल २४ रन बनाएर आउट भए । त्यस्तै राजेश पुलामी मगरले पनि १३ रन मात्र जोड्न सके । आशा गरिएका अनुभवी खेलाडी शरद भेषवाकरले मात्र १० रन जोडे । प्रदीप ऐरीले ६ रन जोडे भने करण केसी २ रनमै आउट भए । बलिङतर्फ हसन मलिकले ३ विकेट लिदा भान डर गग्टेनले दुई विकेट लिए । दुई बीचको दोस्रो ट्वान्टी ट्वान्टी खेल आज हुनेछ ।
नेपाल र नेदरल्याण्डस  दुवलेै जुलाइ ९ देखि आयरल्याण्ड र स्कटल्याण्डमा सुरु हुने ट्वान्टी ट्वान्टी बिश्वकप क्रिकेटको छनौटमा सहभागिता जनाउदैछन । त्यसैले दुवैका लागि यो श्रृङखला छनौट खेलको तयारीका रुपमा समेत रहेको छ ।

Comments