काठमाडौं । मनिषा कोइराला कुनै समयकी बलिवड नम्बर वान नायिका हुन् । त्यतिबेला उनको सफलता र सौन्दर्यबाट बलिवडका कयौं हस्तीहरु जल्थे र लोभिन्थे । धेरैको लक्ष्य र सपना मनिषा कोइराला जस्तै बन्ने थियो । तर त्यो स्टारडमलाई सम्हाल्न नसक्दा छिट्टै उनी हराइन् ।

धेरैलाई थाहा नहुनसक्छ मनिषाको त्यो लोभलाग्दो करियरलाई डुबाउँने अरु कोही नभएर उनको आफ्नै केही आदत मूल कारण थियो । बलिवडको सफल करियर बनाइसकेपछि मनिषामा ड्रग्स, स्मोकिंग र रक्सी पिउँने खराब लत बसेको थियो । यसबाट उनको शरीरको तौल अनावश्यक रुपमा बढ्दै गयो । यसबाट उनको करियर मात्र डुबेन,उनी डिप्रेसनको शिकार समेत बनिन् । यतिमा मात्र मनिषाको खराब दिनको अन्त्य भएन । गम्भीर विरामी परेकी उनको जब स्वास्थ्य परीक्षण गरियो तब उनी क्यान्सरबाट ग्रस्त रहेको पत्ता लाग्यो । तर बेलैमा उपचार पाएर उनले क्यान्सर रोगलाई पनि जितिन् । तब उनलाई जीवनप्रतिको मोह अझ बढ्यो । यसले उनलाई आफ्ना खराब बानी त्याग्न मात्र होइन,सत्कर्ममा लाग्न प्रेरणा पनि दियो ।

त्यसैले अहिले मनिषाको सोंच र जीवनशैलीमा आकाश जमीनको फरक आएको उनका सहकर्मिहरुको भनाइ छ । अहिले विभिन्न सामाजिक अभियानहरुमा सक्रिय मनिषा ड्रक्सविरुद्धका अभियानहरुसँग पनि जोडिएका छन् । हालै गएको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त नेपालको पुननिर्माण अभियानमा पनि उनले सद्भावना दूतका रुपमा ऐक्यवद्दता जनाइरहेकी छिन् । बलिउडमा पनि उनी पुनर्आगमनको साइत कुरेर बसेकी छिन् । स्रोतका अनुसार उनलाई सुहाउँदो कथा र भूमिका लिएर केही निर्माता निर्देशकहरुले उनीसँग प्रारम्भिक कुराकानी समेत गरिरहेका छन् ।

Comments