मेलबर्न । समुदायमा हुने प्रायः सबै ब्यवसायिक तथा परोपकारी कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएका भरत पोखरेल एनआरएनए अस्ट्रेलियालाई अझै संगठनिक रुपमा मजबुत बनाउन र एनआरएनको कार्यालयजस्ता आवश्यक पूर्वाधार समेत नभएको कुरालाई इगिंत गर्छन् । पेशाले एकाउण्टेन, वकिल र शैक्षिक परामर्शकर्ता पोखरेलले अघिल्लो कार्यकालमा सचिव पदमा सक्रिय रहेर र चुस्त कार्य सम्पादन गरेका कारण सबैको स्यावासी पाएका थिए । उनी लगानी र कल्याणकारी कार्यक्रमलाई आफूले महत्व दिएको बताउँछन् ।

भूकम्पका कारण ध्वस्त भएको नेपालको पुनर्निर्माण, एनआरएन सदस्यता वितरण प्रक्रिया सहज र समावेशी बनाउने, अहिले कार्यसमितिले ल्याएका सफल कार्यक्रमहरु हेल्प डेक्स, सोसियल वेलफेयर फण्ड, नेपाल महोत्सव र स्कीलका कर्यक्रमहरुलाई विस्तार र प्रभावकारी बनाउने पोखरेलको योजनामा रहेको छ । जुझारु युवाहरु र नयाँ सदस्यहरुलाई नयाँ कार्यसमितिमा अवसर दिनुपर्ने पोखरेल बताउँछन् । अग्रजहरुको अनुभव र युवा पुस्ताको सक्रियताकोे संयोजन सहितको एनआरएन अस्ट्रेलियाको टिम बनाउने पोखरेलको योजना रहेको छ ।

अघिल्ला वर्षहरुको परम्परालाई तोड्दै समुदायका विभिन्न संघसंस्थामा जिम्मेवार पदमा काम गरेका व्यक्तिहरु पनि यो पटक एनआरएनको नेतृत्वका लागि प्रतिस्पर्धा गर्दैछन् । सुरेन्द्र सिग्देल नेपाल अस्ट्रेलिया डेमोक्रेटिक फोरम (एनएडिएफ)को नेतृत्वमा लामो समय बसेका छन् । पेशाले शैक्षिक परामर्शकर्ता सिग्देलसँग एनआरएनको एनसीसी र आइसीसीमा बसेर काम गरेको अनुभव पनि छ ।

यही अनुभव र विश्वासका आधारमा सिग्देल एनआरएन अस्ट्रेलियाको अध्यक्ष पदमा लड्दै छन् । अध्यक्ष पदमा जितेको खण्डमा अस्ट्रेलियाको नेपाली समुदायको साथै नेपाल र ग्लोबल नेपाली समुदायलाई लक्षित गरेर सिग्देलले केही योजनाहरु अघि सारेका छन् ।

विद्यार्थीहरुको लागि कल्याणकारी कोष र सदस्यता वितरण प्रक्रिया सहज बनाउने, सोसियल वेलफेयर फण्डलाई दिगो बनाउने, अस्ट्रेलियाभरि रहेका नेपाली समुदायिक संस्थाहरुसँग एनआरएनकोे समन्वय र सहकार्य बढाउने, भूकम्पका कारण क्षति भएका नेेपालको पुनर्निर्माणका लागि अस्ट्रेलियाको तर्फबाट कम्तिमा २ सय वटा घर बनाउने, जेष्ठ नागरिक सञ्जाल बनाउने, एनआरएन अभियानमा लागेकाहरुको योगदानको कदर गर्दै एनआरएन पुनर्मिलन कार्यक्रम गर्ने, नेपालमा छात्रवृति, सामूहिक लगानी, एनआरएन कार्यालय र सञ्चार केन्द्रको साथै संस्थागत संरचना सुदृढीकरण र पारदर्शीताजस्ता मुद्दालाई सिग्देलले अघि सारेका छन् । आफूले अघि सारेको एजेण्डाहरुल्ााई मन पराएर सहकार्य गर्न रुची देखाउने वर्तमान उम्मेदवारहरुको लामो सूची आफूसँग भएको सिग्देल बताउँछन् ।

एनआरएनको अध्यक्ष पदमा सधै न्यू साउथ वेल्स (सिड्नी)बाट मात्र हुँदै आएको प्रतिनिधित्व र उम्मेदवारीलाई चुनौती दिदंै पहिलो पल्ट भिक्टोरियाबाट ऋषि कँडेलले उम्मेदवारी दिएका छन् । कँडेल वर्तमान भिक्टोरिया राज्य संयोजक तथा केन्द्रीय उपाध्यक्ष समेत हुन् । पेशाले आईटी क्षेत्रमा सक्रिय कँडेल ‘स्ट्याण्डीङ फर बेटर एनआरएन’ भन्दै प्रचार-प्रसारमा सक्रिय छन् ।

एनआरएनमा सधैं नेपाली राजनीति हावी भएको भन्दै त्यो परम्परा तोड्न आफूले उम्मेदवारी दिएको कँडेलले प्रष्ट पारे । आफ्नो चुनावी प्रतिवद्धताबारे प्रष्ट पार्दै कँडेलले भूकम्प पीडितहरुको लागि आधुनिक गाउँको निर्माण, एनआरएनमा राजनैतिक विचारको अन्त्य, विद्यार्थीको लागि हेल्प डेस्क, सदस्यता वितरण प्रभावकारी, एनआरएनलाई समावेसी बनाउन विभिन्न सामाजिक कमिटीलगायतका एजेण्डाहरु सार्वजनिक गरेका छन् । अहिले प्रभावकारी र सफल बन्दै गएका परियोजना तथा अभियानहरु एनआरएन भवन, समाजिक कल्याणकारी कोष, पाथिभरा जेष्ठ नागरिक भवन, नागरिकताको निरन्तरताजस्ता विषयले निरन्तरता पाउने कँडेलले बताए । कँडेलले मुख्य रुपमा एनआरएनलाई राजनैतिक हस्तक्षेपबाट टाढा राख्न चाहन्छन् । यही अभियानलाई प्रचार गर्दै उनी अस्ट्रेलियाका नेपाली बसोवास गर्ने विभिन्न सहरहरुमा पुगिरहेका छन् ।

-नेपालीपत्र

Comments