अर्थ मन्त्री डा. रामशरण महतले बिहिबार संसदमाा पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा नेपालीको वार्षिक आम्दानी अघिल्लो वर्षकोभन्दा बढेर ७ सय १७ अमेरिकी डलर पुगेको छ । यो वर्तमान विनिमय अनुसार वार्षिक ७१ हजार ३ सय ५ रुपैयाँ हुन्छ । जस अनुसार नेपालीले मासिक ६ हजारको हाराहारीमा कमाउँछन् । अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति आय ७ सय १३ अमेरिकी डलर थियो ।

यो वृद्धि अघिल्लो वर्षको तुलनामा १३ दशमलब ८ प्रतिशतले बढी हो । यसको कारणमा संविधानसभा निर्वाचन र निर्वाचित सरकारप्रति निजी क्षेत्रको विश्वासलाई लिइएको छ । यस वर्ष अर्थतन्त्रका सूचकहरु आर्थिक वृद्विदर, आम्दानी र कुल गार्हस्थ उत्पादन तीनै पक्षमा सुधार आएको आर्थिक सर्वेक्षणले देखाएको छ ।

त्यस्तै आर्थिक वृद्धिदर पनि लक्ष्यकै हाराहारीमा हुने प्रक्षेपण छ । केही महिना अघि विश्व बैंक र एसियाली विकास बैंकले सरकारले निर्धारण गरेको लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने प्रक्षेपण गरे पनि सरकारको आर्थिक सर्वेक्षणमा भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने बताइएको छ । यो विगत ६ वर्ष यताकै उच्च वृद्धि हो ।

नेपालीको यो आय मुलुकभित्र रोजगारीको सिर्जना र आथिृक उत्पादकत्वको कारणले नभएको अर्थविदहरुको टिप्पणी छ  । वैदेशिक रोजगारीबाट भित्रिएको आम्दानीका  कारण ग्रामीण क्षेत्रका जनताको जीवनस्तर केहि हदसम्म माथि उठेको कुरालाई नकार्न नसकिने देखिन्छ |

Comments