मेलबर्न । अष्ट्रेलियाको मेलबर्न शहर दिनदिनै असुरक्षित बन्दै गएकोप्रति सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ ।

पछिल्लो समयमा चोरी,लुटपाट र आक्रमण जस्ता अपराधिक घट्नाक्रममा वृद्धि भएपछि सर्वसाधारणले असुरक्षित महसूस गर्न थालेका छन् । अझ पछिल्ला दिनमा दिनहूँ जसो वेवारिसे बन्दुकहरु बरामद हुन थालेपछि यस क्षेत्रको सुरक्षा स्थितिमाथि नै गम्भीर प्रश्न चिन्ह उठेको स्वयम् प्रहरीको भनाइ छ । मेलबर्नको उत्तरपश्चिम क्षेत्रमा अहिले प्रत्येक दिन जस्तै विभिन्न बन्दुकहरु बरामद हुन थालेको प्रहरीले जनाएको छ । त्यसरी बरामद भएका बन्दुकहरुमा हाते बन्दुक,घरेलु बन्दुकदेखि अत्याधुनिक बन्दुक सम्म रहेका छन् ।

भिक्टोरिया प्रहरीका अनुसार त्यस क्षेत्रमा प्रत्येक ६ दिनमा एउटा लुटपाट वा गोली प्रहारका घट्नाबारेको उजुरी आउँने गरेका छन् । तर त्यसरी बरामद गरिएका बन्दुक कसले र के प्रयोजनका लागि ल्याइएका हुन् भन्नेबारे प्रहरीले अझै पनि यकिनसाथ भन्न सकेको छैन । ती बन्दूकहरु अपराधिक क्रियाकलापका गिरोह अथवा आतंकवादी समूहमध्ये कुनै एकको हुनसक्ने प्रहरीको अनुमान छ ।

हतियारहरु बरामद हुन थालेपछि मेलबर्नमा असुरक्षा बढेको स्वीकार गर्दै भिक्टोरिया प्रहरीले शतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । साथै प्रहरीले आतंकवादीबाट समेत मेलबर्न र अष्ट्रेलिया सुरक्षित नरहेको स्वीकार गरेको छ । अष्ट्रेलियामा पनि इस्लामिक स्टेट लगायतका विद्रोही समूहहरु सक्रिय बन्दै आएको छ ।

Comments

comments