नेकपा एमालेको  नवौंँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि शुक्रबार बिहान ८:०० बजेदेखि हुने भनिएको मतदान प्रक्रिया बिहान १०:०० बजेदेखि मात्र सुरु हुने जानकारी गरिएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले उम्मेदवारी दर्ता गर्न तोकिएको निर्धारित समयमा काम सम्पन्न हुन नसकेकाले अन्तिम नामावली प्रकाशनमा केही ढिलाइ भएको जानकारी दिनुभएको छ । पार्टी निर्वाचन आयोगले उम्मेदवारी मनोनयन गर्ने समय अपराह्न २:३० बजेसम्म समय निर्धारण गरिए पनि हिजो उम्मेदवारी दर्ता साँझ ५:०० बजे मात्र सम्पन्न भएको थियो ।

महाधिवेशनबाट केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगबाहेक पदाधिकारीसहित १५९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।

जारी नवौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार माधवकुमार नेपाल र केपी शर्मा ओलीको समूहगत (प्यानल) का आधारमा मतपत्र बनाइने भएको छ ।

यो अहिलेसम्मकै नयाँ र चरम गुटबन्दीको नमूना भएको भन्दै यस्तो कार्य नगर्न प्रतिनिधिहरुले सुझाव दिए पनि दुबै प्यानलका नेताको सहमतिमै यस्तो मतपत्र बनाउन लागिएको हो ।

Comments

comments