मंगलवारबाट मलमास शुरु भएको छ । यो संगै विवाहित जोडीहरु पनि अलग बस्न थालेका छन् । वैदिक मान्याता अनुसार नवविवाहित जोडीहरुले अब कम्तिमा एक महिना सँगै बस्न र सुत्न हुँदैन । असार १ गतेबाट शुरु भएको मलमास अर्थात अधिकमास ठीक एक महिनासम्म अर्थात असार ३१ गते रातिसम्म रहनेछ ।

मलमासको समयमा नवविवाहित जोडीहरु अलग बस्नुपर्ने र गर्भधारण गर्न नहुने परम्परागत मान्यता छ । यसको अर्थ मलमासको अवधिमा सेक्स गर्न नहुने हो ? यो धेरैजनाको प्रश्न हो । विज्ञहरु भन्छन्-मलमासमा सेक्स गर्न नहुने होइन तर यो अवधिमा गर्भधारण भएको बच्चा राम्रो हुँदैन ।

मलमासमा यौनकार्य नगर्न सुझाब दिँदै ज्योतिष पण्डितहरुले यस्तोबेला गर्भ बसे परिवारलाई कष्ट हुन सक्ने बताएका छन् ।

ज्योतिष आत्माराम भण्डारीका अनुसार मलमासको बेलामा गर्भ रह्यो भने बच्चा त जन्मिन्छ तर, त्यो बच्चाको भविष्य रेखा ज्योतिषलाई पनि थाहा हुँदैन ।

तर, गर्भधारण बाहेकको सहवासका बारेमा शास्त्र र विज्ञहरुले केही बोलेका छैनन् । तर नवविवाहित जोडीहरु चाहिँ अलग बस्नु भन्छन् । यस्तो बेला नवविवाहित युवती माइती बस्ने प्रचलन छ ।

यो एक महिनाको मलमास अवधिमा कुनै पनि शुभ कार्य र पितृकार्य गर्न हुँदैन भन्ने हिन्दु धार्मिक मान्यता छ । यसबीचमा पर्ने तिथि श्राद्ध पनि मलमास सकिएपछि मात्रै गरिन्छ । मलमासकै कारण यस वर्षका सबै चाडपर्व एक महिना पछि सरेका छन् ।

अधिकमासकै कारण असारमा सधैं हुने विहेका लगन यस वर्ष छैनन् । विवाह, ब्रतबन्ध, गृह प्रवेश, नयाँ ठाउँको यात्रा कुनै पनि शुभकार्य यस अवधिमा नगर्नु राम्रो हुने ज्योतिषको सुझाव छ ।

मलमासको सम्बन्ध खगोल विज्ञानसँग पनि रहेको ज्योतिषशास्त्री बताउँछन् । हरेक ३२ महिना १६ दिन वितेपछि मलमास सुरु हुन्छ । १९ वर्षपछि त्यही महिना, त्यही दिनमा आउँछ ।

Comments

comments