-ऋषिराम कंडेल

आगामी जुलाई ४ मा हुन गइरहेको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी परेको छ । भिक्टोरिया निवासी समाजसेवी तथा व्यवसायी ऋषिराम कँडेलले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँनुभएको छ । भिक्टोरियामा मात्र होइन अष्ट्रेलियाभरि नै नेपाली समुदायबीच लोकप्रिय व्यक्तित्वका रुपमा स्थापित कँडेलले आफ्नो उम्मेदवारीको औचित्य र उदेश्यबारे प्रकाश पार्नुभएको छ । उहाँको सोही विचार र धारणा हिमालयन कङ्गारुमा पहिलोपटक प्रस्तुत गरेका छौं ।

पुनःनिर्माणमा एनआरएनः

गएको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाई गएको प्रलयकारी भूकम्प र त्यसपछिको विभिन्न पराकम्पनका कारण मुलुक यतिवेला दुःख, पीडा र शोकको घडीमा छ । विडम्बना भन्नु पर्दछ, देशका लागि केही गर्ने जोश र जाँगर भएका नवजवान युवाहरू मुलुकबाहिर छन् । त्यसैले देश बाहिर रहेका नेपालीहरूको महत्वपूर्ण संस्था एनआरएन भएकाले मुलुकको पुनःनिर्माण र नव निर्माणको जिम्मा एनआरएनले लिनुपर्दछ भन्ने मलाई लागेको छ ।

भत्किएका संरचनाहरूको निर्माणका लागि एनआरएनले महत्वपूर्ण भूमिका खेल्न सक्छ । संस्थागत रुपमा एनआरएनले त्यो पहल लिनु पर्दछ र अवको दुई चार वर्ष आफ्नो सम्पूर्ण शक्ति मुलुक निर्माणमा केन्द्रित गर्नुु पर्दछ । त्यसका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न सकियो भने पक्कै पनि लक्ष्यमा पुग्न सकिन्छ । एनआरएनले नेपाल सरकारसँग हातेमालो गरेर के के कुरामा सहयोग पुर्याउन सकिन्छ ? त्यो कुरामा विशेष ध्यान दिनुपर्दछ ।

शिक्षा, स्वास्थ्य, पुर्वधार विकास, एकीकृत वस्ती विकास कुन– कुन क्षेत्र हुन सक्छ त्यसतर्फ सोच्नु पर्दछ । म आफू उम्मेदवारीको प्रत्यासी भएकाले यिनै कुराहरुलाई मुख्य रूपमा अघि सारेको छु ।

लगानीका लागि संस्थागत पहलः

आम मानिसहरूको एनआरएन भनेको लगानी गर्न सक्ने संस्था हो भन्ने बुझाई छ । देशमा वा मुलुक बाहिर रहनु भएका नेपालीहरु सबै सोचाई यहि छ । उनीहरुमा एनआरएन भनेकै लगानी हो भन्ने भान पनि परेको छ । त्यो केही हदसम्म सत्य कुरा पनि हो । विदेशमा रहेका नेपालीहरूले आफूले खाई नखाई पैसा पठाउनु भएको छ, त्यो पैसा मुलुको बृद्धि र विकासका लागि खर्च भएको छ । एनआरएनले पनि गरिरहेको छ तर लगानी अझै संस्थागत हुन सकेको छैन । धेरै मानिसहरू एनआरएनमा आवद्ध हुन नसक्दाको परिणाम हो यो ।
एनआरएन मार्फत मुलुकमा ठूल्ठूला कामहरू भएका छन् । परियोजनाहरू सञ्चालनमा आएका छन् । तर यसलाई अझै व्यापक बनाउन जरूरी छ । केन्द्रीकृत रूपमा ठूल्ठूला परियोजना सञ्चालन गर्ने विषय अब बहसको विषय हो । बाहिरबाट नेपालमा जाने लगानीहरूलाई कसरी संस्थागत गर्ने भन्ने विषय पनि त्यस्तै गम्भीर छ । लगानी सुरक्षाको ग्यारेण्टी कसरी गर्न सकिन्छ र कसरी बढी भन्दा बढी लगानी मुलुकमा भित्र्याउन सकिन्छ भन्ने विषयमा एनआरएनको ध्यान जान जरूरी छ ।

यदि हामीले लगानीको सुरक्षा गर्न सक्यौँ र राज्यले त्यो प्रत्याभूत गर्यो भने पूर्वाधार विकासको क्षेत्रमा ठूलो लगानी मुलुकमा भित्रन सक्छ । रोजगारीको सिर्जना हुन सक्छ । मुलुकमा उपलव्ध स्रोत र साधानको भरपुर उपयोग गर्न सकिन्छ भन्ने विश्वास पनि हामीले लिएका छौँ । अहिले झण्डै ३०–४० लाख नेपाली बाहिर छौँ । त्यसकारण विदेशमा रहेका हामी नेपालीले एउटै देशभित्र रहेको नेपालीलाई रोजगारीमा संलग्न गराउन सक्यौं भने मुलुकमा ठूलो रोजगारीको सिर्जना हुन्छ । मुलुकको कायाकल्प हुन सक्छ । अतः यस तर्फ पनि एनआरएनले ध्यान पुर्याउनु पर्दछ ।

विदेशमा रहेका संघ/संस्थाहरू सकारात्मक दिशामा

अष्ट्रेलियामा खोलिएका साना साना सामाजिक संघ संस्थाहरूको भूमिका निकै राम्रो छ । अष्ट्रेलियामा यस्ता संस्थाहरूको संख्या सय भन्दा बढी छ । यी स– साना संस्थाहरू आफ्नो जातीय भाषिक पहिचानका लागि क्रियाशील भइरहेको अवस्था छ । यिनीहरूले हाम्रो देश नेपालको विविधताको झल्को दिएका छन् ।

यी संस्थाहरूले आफ्नो गाउँको, क्षेत्रको, जिल्लाको लागि काम गरिरहेकोमा पक्कै द्धिविधा छैन । यससँगै यिनीहरूले मुलुकको विकासका लागि पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । ती संस्थाहरूले स सानो रूपमा भए पनि सहयोग जुटाइरहेका छन् र मुलुकको बृहत्तर हितका लागि उपयोग गरिरहेका छन् । यसबाट नेपालीहरूको एकता, हार्दिक र सदासयता विश्वसामू नमुनाको रूपमा स्थापित भएको छ र त्यो एकता प्रकारान्तरले मुलुकको परिचायक बनेको छ ।

हामी एक्लै केही गर्न सक्ने अवस्था छैन, केही नयाँ काम गर्नका लागी समूहको जरूरत पर्दछ । त्यसकारण गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले त्यस्ता संघ÷संस्थाहरूको प्रवद्र्धन गर्न चाहन्छ । उनीहरूको बृद्धि र विकासका लागि हरतरहले सघाउन चाहन्छ । त्यस्ता संघ संस्थाहरूको जगेर्ना गर्न सकियो भने एनआरएन आफैँ बलियो हुन्छ । यसकारण कि एनआरएन पनि आफैँ त्यस्तै विभिन्न संगठनहरूको माऊ संगठन पनि हो ।

खेलकुद क्लवहरू समाज जोड्ने मेरूदण्डः

विदेशमा रहेर पनि हामी खेल क्षेत्रको विकास र उत्थानका लागि उत्तिकै क्रियाशील छौँ । हामी खेलकुदका विभिन्न कार्यक्रमहरूमा सहभागी पनि भइरहेका छौँ । खेलले मानिसहरूलाई स्वस्थ बनाउनुका साथै समूहभावको विकास गराउँन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विदेशमा यसको छुट्टै महत्व छ । यसले छरिएर रहेका नेपालीहरूबीचमा झन् ठूलो समूहसीप र एकताभावको विकास गराएको छ ।
हामीले प्रत्येक वर्ष अनौपचारिक या औपचारिक रूपमा खेलकुदका विभिन्न कार्यक्रम÷प्रतियोगिताहरू आयोजना गर्दै आइरहेका छौँ । त्यसकारण एनआरएनले त्यस्ता खेलसँग सम्बन्धित क्लव र संघसंस्थाहरूको अझ प्रवद्र्धन र विकास गर्नुपर्दछ । उनीहरूलाई हौसला प्रदान गर्नु पर्दछ भन्ने मेरो मान्यता छ । त्यसका लागि अष्ट्रेलिया सरकारबाट पनि सहयोग जुटाउन एनआरएनले भूमिका खेलिदिनु पर्दछ । यदि त्यसो भयो यहाँ रहेका नेपालीहरूको थप बृद्धि र विकास हुँन्छ । खेलक्षेत्र एनआरएनको अचल पुँजि बन्ने छ ।


हामी सवै एनआरएनः

विधानतः विदेशमा पीआर पाएर दुई वर्ष बसोवास गरिसकेकालाई गैर आवासीय नेपाली भन्ने व्यवस्था छ । तर, मेरो पहल के हो भने विदेशमा रहनु भएका सवै मित्रहरू एनआरएन हो । उहाँहरूले मुलुक बाहिर रहँदा सोही अनुसार सक्रिय भूमिका खेल्न सक्नुपर्दछ । अर्को हामीले सवैलाई एनआरएन भित्र समावेश गर्न सक्यौँ भने हाम्रो दायरा पनि फराकिलो हुन्छ । संस्था झन् संबृद्ध बन्दछ । मुलुकको विकासमा राम्रो भूमिका खेल्न सक्दछ । लगानी एकीकृत हुन्छ । व्यापकता पाउँछ ।

तर, हामीले चाहेर पनि विधानमा भएको व्यवस्थाका कारण उहाँहरूलाई समावेश गर्न सकेका छैनौँ । यसर्थ पनि मेरो पहल कदमी भनेको विदेशमा रहनु भएका सम्पूर्णहरूलाई एनआरएन बनाउने रहेको छ । मेरो कार्यकालमा राजनीतिक र कानूनी रुपमा अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एनआरएन बनाउन भूमिका रहनेछ ।

अष्ट्रेलियामा पढ्न आउनु भएका युवा विद्यार्थीहरूको ठूलो जमात छ, उहाँहरूलाई एनआरएनमा अटाउन सकियो भने त्यो हाम्रा निम्ति ठूलो हितकर हुन्छ । धेरैलाई बाहिर राखेर केहीलाई मात्र एनआरएन बनाएर समुन्नत र प्रजातान्त्रिक संस्थाको भावना उजागार हुँदैन ।

Comments

comments