भूकम्पले १२ फिट दक्षिण–पश्चिम दिशातर्फ ढल्केपछि पूजाआजा बन्द भएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा शनिबारदेखि नियमित पूजा आरम्भ गरिने भएको छ । मन्दिर जीर्णोद्धारका लागि भत्काउन सुरु गरिएकाले मन्दिर बाहिरै पूजा सुरु गर्न लागिएको हो । यसअघि भक्तजनको सुरक्षालाई ध्यान दिएर मनकामना मन्दिरमा पूजा रोकिएको थियो ।

परकम्प जाने क्रमः पातलिएसँगै पूजाअर्चनाका लागि भक्तजनलाई खुल्ला गरिएको मन्दिरका मुख्य पुजारी इन्सानबहादुर थापाले जानकारी दिनुभयो । मन्दिर परिसरमा देवी थापना गरेर पूजाअर्चनाको व्यवस्था मिलाइने छ । मन्दिरभित्र रहेको देवीको प्रतिमूर्ति बाहिर लगेर चौतारामा स्थापना गरी पूजाअर्चना सुरु गरिने छ ।

मन्दिर परिसरमै बोकाको बलि दिने व्यवस्था पनि मिलाइने छ । मनकामना मन्दिर जीर्णोद्धार समिति, मनकामना मन्दिर क्षेत्र विकास समिति, मनकामना गाविसमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिलगायतको भेलाले मन्दिर बाहिरै पूजा सुरु गर्ने सम्पूर्ण व्यवस्थापन मिलाएको हुन् । भूकम्पले मन्दिरमा क्षति पुर्याए पछि जगैदेखि भत्काएर पुनःनिर्माण सुरु गरिएको छ ।

रु १४ करोड लगानी गरेर आउँदो तीन वर्षभित्र पहिलेको जस्तै मन्दिर तयार गरिने जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

Comments