अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शुक्रबार राति मृत्यु भएको छ। ललितपुर भैँसेपाटीस्थित नयाँ घरमा शुक्रवार मात्र सरेका श्रेष्ठलाई बिजुली मिलाउने क्रममा राति सवा नौ बजे करेन्ट लागेको थियो।

अल्का अस्पताल पुर्‍याइएका उनलाई मृत घोषित गरिएको थियो।

४९ वर्षीय श्रेष्ठकी पत्नी निलु श्रेष्ठ, एक छोरा र एक छोरी छन्। नेपाली फुटबल जगतको प्रख्यात क्लब थ्री स्टारका अध्यक्ष पनि थिए। ललितपुर जिल्लामा ए डिभिजनका तीन क्लब भए पनि थ्री स्टारलाई मात्र ललितपुरको भान पर्ने गरी यसको ख्याति उचाल्नुमा श्रेष्ठको व्यवस्थापकीय क्षमतालाई नै मुख्य मानिन्छ।

२०४३ सालदेखि थ्रीस्टारमा आवद्ध श्रेष्ठ तीन पटक यसका अध्यक्ष चुनिएका थिए।

भ्रष्टाचारको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरेपछि एन्फा अध्यक्ष गणेश थापाले आफ्ना विश्वासपात्रका रुपमा रहेका श्रेष्ठलाई गत कात्तिकमा कार्यवाहक जिम्मेवारी दिएका थिए।

त्यसअघि उनी एन्फाका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता थिए।

लेखा समितिले दोषी ठहर गरे पनि थापाको मुद्दालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको थियो। यस विषयमा अनुसन्धान थालेको फिफालाई थापाले चार महिना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा फुटबलबाट अलग हुने बताएको थियो। सो अवधि सकिएपछि पनि सभासद् भइसकेका थापाले श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी जारी राख्न भनेका थिए।

Comments