भारतको केही राज्यहरुमा म्यागी चाउचाउको गुणस्तरीयतालाई लिएर चलेको विवादसँगै नेपालमा उत्पादित विभिन्न ब्रांण्डका चाउचाउमाथि पनि आशंका उठ्न थालेको छ ।

भारतको तमिलनाडू राज्यमा नेपाली ब्राण्डको चाउचाउ वाइवाइमाथि समेत प्रतिबन्ध लगाइएपछि नेपाली चाउचाउहरु पनि तिनीहरुको गुणस्तरीयतालाई लिएर शंकाको घरामा पर्न थालेका हुन् । तमिलनाडू राज्य सरकारले भारतको नेस्ले ब्राण्डको म्यागीसँगै वाइवाई एक्सप्रेस नुडल्स, रिलाइन्स सेलेक्ट नुडल्स् र स्मिथ एन्ड जोन्स चिकेन मसला नुडल्समाथि प्रतिबन्ध लगाएको हो ।

तमिलनाडूकी मुख्य मन्त्री जयललिताको निर्देशनमा खाद्य सुरक्षा कमिस्नरले यी ब्राण्डका चाउचाउको उत्पादन, भण्डारण र बिक्रीमा तीन महिनाका लागि प्रतिबन्ध गरेको हो ।

स्थानीय सरकारले तीनवटै चाउचाउमा आवश्यकताभन्दा बढी अजिनो मोटो र शिशा भेटेपछि तीन महिनाका लागि बिक्री वितरणमा रोक लगाएको हो । वाइवाई नेपालको चौधरी समूहले उत्पादन गर्ने प्रसिद्ध ब्राण्डको चाउचाउ मानिन्छ । नेपालसहित वाइवाइको भारत र दक्षिण अफ्रिकामा पनि उत्पादन कारखाना छ ।

प्रतिबन्ध लगाएसँगै यी कम्पनीले आफ्ना उत्पादनहरु बजारबाट फिर्ता मगाउन थालेका छन् ।

उता सिक्किम सरकारले म्यागी नखान आमउपभोक्तालाई निषेधपत्र जारी गर्दै वाइवाइ, मामा र मिमी चाउचाउको जाँचका लागि क्षेत्रीय प्रयोगशाला गुहावटी पठाउन निर्देशन दिएको छ । यसको रिपोर्ट आउँदो सातासम्म आउने छ ।

चारवटा कम्पनीका ब्राण्डमा तोकिएकोभन्दा बढी मात्रामा सिसा अर्थात (लिड) पाइएको विज्ञप्तिमा भनिएको छ । मामा र मिमी चाउचाउ पनि चौधरी समूहकै उत्पादन हुन् ।

चौधरी समूह जस्तो ठूलो लगानी र प्रतिष्ठित उद्योगबाट उत्पादित विभिन्न ब्राण्डका चाउचाउहरुमै स्वास्थका लागि हानिकारक तत्वहरु भटिएपछि नेपालका अन्य चाउचाउहरुको गुणस्तरीयता थप शंकाको घेरमा परेको छ । त्यसैले नेपालमा पनि चाउचाउहरुको तत्काल गुणस्तर मापन गरिनुपर्ने उपभोक्ताहरुको माग छ ।

नेपालमा झण्डै दुई दर्जन बढी ब्राण्डका चाउचाउहरु बजारमा पाइन्छन् भने भारतीय उत्पादनका चाउचाउहरु समेत खुलेआम विक्री वितरण हुँदै आएका छन् ।

Comments

comments