संविधानका विवादित विषयमा राय सुझाव लिन शनिवार सर्वदलीय वैठक बस्दैछ । प्रमुख चाल दलको आह्वानमा शनिबार विहान संविधानसभामा रहेका दलहरुको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको चार दलका शीर्ष चार नेताको बैठकले सबै दलको सुझाव लिएर सहमतिको प्रस्ताव तयार पार्ने सहमति गरेका हुन् । शनिबार विहान बालुवाटारमा ९ बजे बोलाइएको बैठकको समन्वय सरकारले गर्नेछ ।

संघीयतामा चार दलबीच ६ वा ८ प्रदेशको विकल्पमाथि छलफल भइरहेको छ । माओवादीले भौगोलिक पहिचानसहितको ८ प्रदेशको प्रस्ताव अघि सारेको छ । कांग्रेस र एमालेले भने नामांकन प्रदेशसभाले गर्ने र सीमांकन आयोगले गर्ने गरी ६ प्रदेश बनाउनु पर्ने अडान लिँदै आएका छन् ।

चार दलले संविधानसभाको २५ गतेको बैठक बस्नु अघि नै सहमति गर्ने प्रतिवद्धता जनाएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका साथ संविधान बन्ने बताए ।

Comments