रुपन्देही । दिपक राइले ह्याट्रिक गरेपछि घरेलु टोली रुपन्देही एघार वुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

रुपन्देही भारतको दार्जिलिङ एघारलाई ५–२ को सहज जीत हात पार्दै उपाधि नजिक पुगेको हो ।

एन्फा टेक्निकल सेन्टरमा शुक्रबार सम्पन्न सेमीफाइनलमा रुपन्देहीले सुरुवात देखिनै पाहुना टोली दार्जेलिङलाई दबावमा राखेको थियो । खेलको १६ औं मिनेटमा पुकार गहतराजले पेनाल्टि गोल गर्दै रुपन्देहीको खाता खोलेका थिए । त्यसको चार मिनेट पछि दिपकले रुपन्देहीको अग्रता दोब्बर पारे । ३६ औं मिनेटमा दार्जिलिङका एभोन राईले गोल दुरी दुई एकमा झारे । तर ४२ औं मिनेटमा विमल घर्तीमगरले तेस्रो गोल गर्दा रुपन्देहीले पहिलो हाफमै तीन एक अग्रता लियो । घरेलु दर्शकको साथ पाएको रुपन्देहीले दोस्रो हाफमा पनि आफ्नो बश्र्चस्व कायमै राख्यो ।

५४ औं मिनेटमा दिपकले ब्यक्तिगत दोस्रो गोल थप्दा ५९ औं मिनेटमा ह्याट्रिक पूरा गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने दिपक पहिलो खेलाडी हुन् । ७६ औं मिनेटमा भाइचुङ राईले गोल गरेपनि दार्जेलिङको जीतका लागि पर्याप्त भएन् । उपाधीका लागि अब रुपन्देहीले नेपाल आर्मी क्लब र झापा एघार बीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको सेमीफाइनल शनिबार हुनेछ ।

Comments

comments