सिड्नीको मिन्टोमा रहेको शिव मन्दिर बन्द हुने भएको छ । सिड्नी र आसपासका नेपाली तथा हिन्दू समुदायको आस्थाको केन्द्रको रुपमा रहँदे आएको शिव मन्दिर गैरकानूनी ठहर गर्दै बन्द गर्ने तयारी गरिएको छ । क्याम्पवेलटाउनका काउन्सिलर फ्रेड ब्रोगले मन्दिर अवैधानिकभएकोले बन्द गरिन लागेको जनाए । मन्दिर सञ्चालनको लागि बनाइएको मुक्ति गुप्तेश्वर मन्दिर समाजका अध्यक्ष प्रेम मिश्रले यस ठाउँमा वर्षभरिमा तीन पर्व मनाउने, सांस्कृतिक जात्रा गर्ने र प्रदर्शनी गर्नका लागि यस महिनाको काउन्सिल बैठकमा प्रस्ताव राख्नुभएको थियो । तर वैठकले उक्त प्रस्तावलाई पनि अस्वीकृत गरेको छ ।

काउन्सिलले मन्दिरका कारण ध्वनी प्रदूषण भएको, ट्राफिक समस्या आएको, चाडपर्व र जमघट विनासूचना सञ्चालन गर्ने गरिएको लगायतका विषयमा सर्वसाधारणबाट गुनासो आएको भन्दै मन्दिर सञ्चालननै बन्द गर्ने निर्णय गरेको हो । यस विषयमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरिएकोले मन्दिर बन्द गर्ने अप्रिय निर्णयमा पुग्नुपरेको काउन्सिलर ब्रोगको भनाइ छ ।

उनले गैरकानूनी रुपमा मनाइने पर्व र स्थानीयवासीलाई बाधा पुग्ने गरि सञ्चालन हुने गतिविधिहरु सहन गर्न नसकिने स्पष्ट पारे । काउन्सिलले उक्त क्षेत्रमा मन्दिर निर्माण पनि गैर कानूनी रुपमा भएको निष्कर्ष निकालेको छ । रिपोर्ट अनुसार उक्त ठाउँमा सन् १९९६ मा टेनिस कोर्ट बनाउने अनुमति दिइएको थियो । तर, विनास्वीकृति भूमिगत प्रार्थनाकेन्द्र र योगशाला तथा लाईब्रेरी बनाइएको रिपोर्टमा आरोप लगायएको छ ।

काउन्सिलर ब्रोगले जे प्रयोजनका लागि यो ठाउँको अनुमति लिइएको हो त्यही नै हुनुपर्ने अडान सुनाउँदै मन्दिर बन्द गर्ने उपाय खोज्न काउन्सिलका महाप्रबन्धकलाई निर्देशन दिइसकिएको जनाए ।

तर यता मन्दिर व्यवस्थापनले भने काउन्सिलको कदमको आलोचना गरेको छ । काउन्सिलको निर्णय क्याम्पवेलटाउनको बहुसांस्कृतिकताको विरुद्ध रहेको समितिको जिकिर छ ।

Comments

comments